विराटनगर। अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुस्नेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरूको उद्धारका लागि हेलिकप्टर ल्याउने तयारी भएको भए पनि खराब मौसमका कारण हेलिकप्टर आउन सकेको छैन ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हेलिकप्टर आए पनि खराब मौसमका कारण घटना स्थलमा हेलिकप्टर ल्याण्ड हुन नसकेको बताइन् । उनले याङ्शिला भन्ने स्थानमा हेलिकप्टर ल्याण्ड भएको जानकारी दिइन् । उनले मृतक र बेपत्ताको संख्या बढ्न सक्ने बताइन् ।