चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गरिने : मन्त्री श्रेष्ठ

7

चितवन। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् ।

चेपाङ समुदायको मौलिक पर्व ‘न्वागी’ (छोनाम) को अवसरमा आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, “यो बस्तीलाई पर्यटन क्षेत्रको रूपमा अघि बढाउन संस्कृति पर्यटन मन्त्रालय निरन्तर लागिरहनेछ । हामीले आफ्नै भाषा, भेष र संस्कार जोगाउन सकेनौं भने अस्तित्व संकटमा पर्छ ।”

नेपाल चेपाङ संघको आयोजनामा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले चेपाङ संस्कृति, भाषा र परम्पराको संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राख्ने बताए ।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले न्वागी पर्वलाई “राष्ट्रिय सम्पदा” का रूपमा व्याख्या गर्दै यसबारे डकुमेन्ट्री निर्माण भइरहेको जानकारी दिए । उनले चेपाङ बस्तीलाई होमस्टे, स्थानीय सम्पदा अवलोकन र सांस्कृतिक पर्यटनसँग जोडेर पर्यटन हब बनाउन मन्त्रालय सक्रिय रहेको पनि बताए ।

नेपालका छ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले प्रत्येक वर्ष पालैपालो न्वागी (छोनाम) पर्व मनाउँदै आएका छन् । संघका अध्यक्ष गोबिन्द चेपाङका अनुसार अघिल्लो वर्ष धादिङमा सम्पन्न भएको पर्व यस वर्ष चितवनमा आयोजना भएको हो भने आगामी वर्ष मकवानपुरको राक्सिराङमा गरिनेछ ।

चेपाङ परम्पराअनुसार पितृलाई पूजा नगरी नयाँ अन्न वा फलफूल खाने चलन निषेध छ । न्वागी पर्वमा घैया धान, काउनो, पिँडालु आदिलाई भूमिमा अर्पण गरी ढ्याङ्ग्रो बजाउँदै कुखुरा बलि दिने परम्परा छ । नातागोता भेला भई सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने यस पर्वको विशेषता हो ।

नयाँ अन्न वा फलफूल पितृलाई अर्पण गरेपछि मात्रै घरपरिवारका सदस्यले खाने चलन छ । पान्दे (झाँक्री) ले ढ्याङ्ग्रो ठटाउँदै नयाँ अन्न अर्पण गर्ने विधि पूरा गर्छन्, जसलाई ‘फलाक्ने’ भनिन्छ । चेपाङ भाषामा नवाङ भनेको ‘नयाँ’ र गी भनेको ‘नौलो’ भन्ने अर्थ हुन्छ ।

मुख्यतः पहाडका भीरपाखामा बसोबास गर्ने चेपाङहरूको प्रमुख बाली मकै, कागुनो, सामा र पिँडालु हो । मकै भदौ महिनामा पाक्ने भएकाले यसै अवधिमा छोनाम पर्व मनाइन्छ । गाउँमा आठ–दस घर मिलेर सामूहिक रूपमा विधि पूरा गर्ने चलन छ ।

चितवन, मकवानपुर, धादिङ र गोरखालगायत २६ जिल्लामा फैलिएका चेपाङहरूको कुल जनसंख्या २०७८ सालको जनगणना अनुसार ८४ हजार ३६४ छ । उनीहरूलाई नेपालको अति सीमान्तकृत आदिवासी समुदायमध्ये एक मानिन्छ ।

बागमती प्रदेश सरकारले विगत तीन वर्षयता भदौ २२ मा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिँदै आएको छ ।