स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सम्पन्न

6
हरिसुन्दर छुकां
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवी माध्यमिक विद्यालयले स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सभाको आयोजना गरेको छ। २०४९ साल भदौ २० गते विद्यालय निर्माणका लागि पहाड पन्छाउँदा ढिस्कोमा पुरिएर ज्यान गुमाएका यी दुई शैक्षिक योद्धाको सम्झनामा शुक्रबार उक्त कार्यक्रम भएको हाे ।
विद्यालयद्वारा आयाेजित उक्त कार्यक्रमका वक्ताहरूले शैक्षिक याेद्दाद्वय बासुकलाकाे याेगदानकाे स्मरणसँगै नयाँ पुस्ताका लागि प्रेरणा पुञ्ज भएकोमा जाेड दिए । उनीहरूले शिक्षा विकासका लागि जीवन समर्पण गरेका उनीहरूकाे जीवनीलाई चाँगुनारायण नगरपालिकाले लागू गरेकाे स्थानीय पाठ्यक्रममा समावेश गर्न समेत जाेड दिए ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले समाजको आँखाका साथै इतिहासमा छाप छोड्ने जीवन बाँच्नुपर्नेमा जोड दिए। उनले शिक्षा भनेको नोकरी र पेशामा मात्र सीमित नभई समाजप्रतिको समर्पण हो भन्ने सन्देश दिने किसिमले नयाँ पुस्तालाई प्रशिक्षित बनाउन अनुरोध गरे ।
उनले अहिलेकाे आवश्यकता भनेकाे समाजप्रतिकाे जिम्मेवारी वहन गर्ने नागरिक तयार गर्नु रहेकाले सङ्घर्ष र सेवा गर्ने भावना निर्माणमा जाेड दिए ।
वडा अध्यक्ष गणेश त्यातले स्वर्गीय बासुकलाद्वयको योगदानलाई स्थानीय पाठ्यक्रममै समावेश गर्नुपर्ने माग राख्दै भने, “विद्यार्थीहरूले आफ्नै गाउँको योगदानकर्ताको कथा पढेर हुर्कन पाउनु नै वास्तविक सम्मान हो।” नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले विद्यालय निर्माणमा बासुकलाहरूले पुर्याएको योगदानलाई स्मरण गर्दै शिक्षा सुधारका लागि सर्वपक्षीय सहकार्य आवश्यक भएको औंल्याइन्।
विद्यालयका पूर्वप्रधानाध्यापक तथा नेमकिपा ताथली अध्यक्ष राजाराम छुकांले सखी डाँडामा विद्यालय बनाउन स्थानीय गुठियार, विद्यार्थी, शिक्षक र अभिभावकले गरेको सामूहिक प्रयासको उल्लेख गर्दै भने, “यही डाँडालाई पन्छाउने क्रममा कृष्ण बासुकला र सङ्घर्ष बासुकलाले सहादत प्राप्त गरे। उनीहरूको बलिदानले नै आज यहाँको शिक्षा जग बसाल्यो।”
उनले शिक्षा ऐन अझै राजनीतिक संरचनाअनुसार परिमार्जन नभएको, नि: शुल्क शिक्षाको अवधारणा कागजमै सीमित रहेको र विद्यालय समस्याप्रति सरकार उदासीन रहेको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष रामप्रसाद मचामसीले समयअनुकूल शिक्षा आवश्यक भएको र विद्यालयले समुदायसँग अझ बलियो सम्बन्ध गाँस्नुपर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यालय निर्माणका लागि याेगदान दिएका व्यक्तिहरूकाे सम्झना गर्दै उदाहरणीय कामलाई नयाँ पुस्तामा फैलाउन विद्यालयले विभिन्न क्रियाकलाप गरिरहेकाे बताए । उनले शैक्षिक गुणस्तर कायम गर्दै शैक्षिक याेद्वाद्वयकाे सपना साकार बनाउन विद्यालय प्रतिवद्द भएको बताए ।
साे अवसरमा विद्यालले एक हजार मिटर छात्र दौड प्रतियोगिता, ५०० मिटर छात्रा दौड र आधारभूत तहको हाजिरीजवाफ प्रतियोगिता गरेकाे विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रकुमार साखकर्मीले बताए ।
विद्यालयकाे प्राङ्गणमा स्थापित प्रतिमामा पुष्पार्पण सहित श्रद्धाञ्जलि अर्पण गरेका वक्ताहरूले विद्यालयकाे शैक्षिक र भाैतिक प्रगति सामुहिक भावना र याेगदानकाे प्रतिफल भएकाे चर्चा गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्गीय सङ्घर्ष बासुकलाका बुवा कृष्णराम बासुकलाले विद्यालय निर्माणका लागि भूमिका खेलेका समाजसेवी बुद्धिकुमार गाेसाईँ, कृष्णलाल दर्शनधारी, जयराम बासुकलाका साथै स्थानीयहरूकाे याेगदानकाे स्मरण गरे ।
कार्यक्रममा स्वर्गीय बासुकलाद्वयका परिवारजन, आफन्त, विद्यार्थी, अभिभावक, स्थानीय वडावासी तथा शिक्षाप्रेमीहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । शिक्षक घनश्याम खड्काले विद्यालयकाे इतिहासबारे चर्चा गरेका थिए ।
बासुकला- छुकां- गिरी- बस्नेत टाेल सडक सरसफाइ
भक्तपुर ।चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा शुक्रबार बिहान वृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।
वडा कार्यालयको पहलमा ताथलीकाे बासुकला- छुकां- गिरी- बस्नेत टाेल सडक सरसफाइ गरिएको हाे । सफाइबारे जनचेतना बढाउन र सफाइ कार्यमा वडावासीकाे सहभागिता र सक्रियता बढाउन वडाले सरसफाइ अभियानलाई निरन्तरता दिइरहेको छ ।
साेही अन्तरगत शुक्रबार साे सडकको सरसफाइ गरिएकाे वडा कार्यालयले जनाएको छ । सरसफाइमा स्थानीय बासिन्दा, आमा समूह, युवा, महिला, विद्यार्थी, किसान, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियाे ।
वडा सदस्य एवम् कार्यपालिका सदसय कमला गिरीले गणेश वडनका विभिन्न क्षेत्र सफा राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सरसफाइलाई दैनिकीमै उतार्न आग्रह गरिन् । उनले सफाइमा गरिएको लापरबाही र बेवास्ताले आफूलाई मात्र नभई सिङ्गो समाजलाई नकारात्मक असर पर्ने भएकाले सफा वडा बनाउने लक्ष्यसहित वडा कार्यालय अघि बढिरहेको जानकारी दिइन् ।
उनले वडाका टाेल, सडक र बस्तीलनई सफा, व्यवस्थित र आकर्षक बनाउन सफनइमा सहकार्यले महत्त्वपूर्ण भूमिका खेलिरहेकाे जनाइन् ।
सहभागीहरूले सडक छेउछाउ र सार्वजनिक स्थानमा रहेका फोहर संकलन गरेर व्यवस्थित ढंगले व्यवस्थापन गरेका थिए । सफाइमा सहभागी वडा वास सहजकर्ता आरती बस्नेतले सफाइ कार्यमा वडावासीकाे सहभागिता लाेभलाग्दाे भएको बताइन् । स्थानीयको सक्रिय सहकार्यमा सम्पन्न सरसफाइ अभियानले ताथली क्षेत्रमा सामुदायिक एकताको सन्देश दिएको आयोजक वडा कार्यालयकाे धारणा छ ।