रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भए ।
उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेकाहरूलाई हावाहुरीले ढालेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालय नै भत्किएको प्रहरीले जनाएको छ । यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका९८ मैनिहवाकी १४ बर्सिया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ ।
रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ भने केही ठाउँमा रुखसमेत ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यस्तै, हुलाकी राजमार्गअन्तर्गत लुम्बिनीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियास्थितमा पिकअप भ्यान र भारतीय कार एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।
शुक्रवार नै भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको यूपी ५३ डीएक्स ५२१४ नम्बरको भारतीय कार ठोक्किएर दुई जनाको मृत्यु भएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता, डिएसपी सुरज कार्कीका अनुसार मृत्यु हुनेमा भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने ३७ वर्षीय कृष्णचन्द्र मौर्य रहेको आधार कार्डबाट खुलेको छ । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन । घाइते कार चालक भारतको अम्बेटकर नगर बस्ने ३५ वर्षीय नगेन्द्र बर्मा रहेका छन् । पिकअपमा चालकसहित सवार पाँच जना सामान्य घाइते छन् ।