जोमसोम । अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्थाहरू धमाधम बन्द हुन थालेका छन्। हिउँदयामको अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमले मुस्ताङका शैक्षिक संस्थाहरूले विद्यार्थीलाई दुई महिना लामो हिउँदे बिदा दिन थालेका हुन्।
मुस्ताङका पाँच स्थानीय तहमा ३५ वटा सामुदायिक विद्यालय छन्। यस्तै, संस्थागत, धार्मिक गुम्बा र आम्ची गरी १२ वटा विद्यालय छन्। जिल्लाको लोमान्थाङमा सामुदायिक, संस्थागत र गुम्बा विद्यालय गरी ९ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा, वारागुङ मुक्ति क्षेत्रमा ५ वटा, घरपझोङमा १० वटा र थासाङ गाउँपालिकामा १३ वटा शैक्षिक संस्था सञ्चालनमा छन्।
हिउँदमा मुस्ताङमा अत्यधिक चिसो हुन्छ। हिमपातको जोखिम हुन्छ। चिसो र हिमपातले यहाँका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा निकै ठूलो समस्या उत्पन्न हुने गर्छ। चिसोले विद्यार्थीको स्वास्थ्य अवस्था प्रतिकूल हुने भएकाले उपल्लो मुस्ताङका शिक्षण संस्थाहरू कात्तिक अगावै घुम्ती कक्षाका लागि बेंसी झार्ने परम्परा छ।
यस्तै, तल्लो मुस्ताङका शिक्षण संस्थाहरू भने पुस र माघ महिना पूरै बन्द हुन्छन्। अत्यधिक चिसोका कारण विद्यार्थीलाई रुघाखोकी, निमोनिया र अन्य स्वास्थ्य समस्याकोे जोखिम हुने भएकाले यहाँका विद्यालयले सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको अनुमतिमा हिउँदे बिदा दिने गरेका छन्। हिउँदयाममा अत्यधिक चिसो र सम्भावित हिमपातले मुस्ताङको जनजीवन प्रभावित हुने गर्छ।
मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका सामुदायिक विद्यालयहरू पुसको १ गतेदेखि दुई महिनाका लागि बन्द भइसकेका छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय पनि पुसको ४ गतेदेखि दुई महिनाका लागि बन्द भएका छन्। मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा पनि पुसको ९ गते चालु शैक्षिक सत्रको त्रैमासिक परीक्षा सम्पन्न गरेर हिउँदे बिदा दिने तयारी गरिएको छ। यसअघि उपल्लो मुस्ताङका सामुदायिक तथा अन्य विद्यालय र वारागुङ मुक्ति क्षेत्रका एक गुम्बा विद्यालयले हिउँदयामको जाडो छल्न कात्तिकमै बेंसी झरिसकेका छन्।
उपल्लो मुस्ताङ र वारागुङको एक विद्यालय गरी १२ वटा सामुदायिक र गुम्बा विद्यालयहरू हिउँदयामको जाडो छल्न पोखराका विभिन्न स्थानमा स्थानान्तरण भइसकेका छन्।
मुस्ताङका २४ वटा सामुदायिक विद्यालय पुसको पहिलो दुई महिनाका लागि बन्द हुने शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका प्राविधिक सहायक चन्द्रसिंह विकले जानकारी दिए। प्राविधिक सहायक विकले जिल्लामा त्रैमासिक परीक्षा सकेर बन्द भएका विद्यालयले फागुनको पहिलो सातादेखि चालु शैक्षिक सत्रको शिक्षण सिकाइ क्रियाकलापले निरन्तरता दिने उल्लेख गरे।
सरकारले सामुदायिक शिक्षण संस्थाहरूलाई वार्षिक ४५ दिन बिदा दिने गरेको छ। मुस्ताङका शिक्षण संस्थाहरूले पुस र माघ महिना विद्यालय बन्द गरेर वार्षिक बिदा कटौती गर्छन। ४५ दिने नियमित बिदा र १५ दिनको सट्टा बिदा गरी यहाँका विद्यालयले हिउँदयाममा दुई महिना विद्यालय बन्द गर्ने प्रचलन छ। उपल्लो मुस्ताङबाट बेंसीमा घुम्ती कक्षा चलाएका विद्यालयहरू गर्मी सुरु भएपछि साबिककै स्थानमा पुगेर शैक्षिक क्रियाकलाप सुरु गर्छन्।
विगतका वर्षहरूमा मुस्ताङका विद्यालयहरूले पुसअगावै चालु शैक्षिक सत्र सकेर नतिजा प्रकाशित गरी फागुनमा नयाँ शैक्षिक सत्र सुरु गर्ने गर्थे। तर, पछिल्लो समय सरकारले देशभरमा एउटै शैक्षिक सत्र कायम गर्ने नीति लिए पनि मुस्ताङका विद्यालयहरूले चालु शैक्षिक नसकिँदै विद्यालय बन्द गर्नुपर्ने समस्या आइपरेको हो। सरकारले देशभरका शिक्षण संस्थाहरूलाई एउटै डालोमा राखेर शैक्षिक सत्र कायम गरेका मुस्ताङसहित १६ वटा हिमाली जिल्लाका विद्यार्थीको शैक्षिक पठनपाठन र सिकाइ उपलब्धिमा समस्या र चुनौती थपिएको छ। चालु सत्र कायम रहने र हिउँदे दुई महिना लामो बिदाले विद्यालयले सिकेको सिकाइ उपलब्धिमा ह्रास आउने अभिभावकको गुनासो छ। हिमाली जिल्लाहरूमा विगतमा जे अभ्यास थियो सोही अनुरूप सरकारले कार्यान्वयनमा ल्याएर हिमाली क्षेत्रका विद्यार्थीको सिकाइ उपलब्धिमा आवश्यक पहलको गर्नुपर्ने अभिभावकको माग छ।