भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एकमात्र अविजित क्षेत्र हो भक्तपुर– १। २०४८ सालपछिका सबै निर्वाचन नेमकिपाले एक्लै जित्दै आएको छ। पाँचपटकको निर्वाचनमा अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ लगातार विजयी हुँदै बनाएको विरासत उनका उत्तराधिकारीको रूपमा पार्र्टी सचिव प्रेम सुवालले कायम राखेका छन्। सुवाल आफैं पनि तेस्रोपटक जित निकाल्दै ह्याट्रिक गर्ने दाउमा छन्।
नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने पनि आफू बलियो प्रतिस्पर्धी भएको बताउँछन्। भक्तपुर नगरपालिकामा नेमकिपाको नेतृत्व भए पनि चाँगुनारायण नगरपालिकामा कांग्रेसको नेतृत्व रहेकाले नेमकिपालाई ढाल्न आफूसँग मात्र जितको आधार भएको उनको भनाइ छ।
भक्तपुर–१ मा कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट रमेश बल्ल र आम जनता पार्टीका तर्फबाट देवेन्द्र ठाकुर उम्मेदवार छन्। राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी उम्मेदवार रहँदा नेपालका लागि नेपाली पार्र्टीका तर्फबाट दीपक पोखरेल (दीपक महाराज आत्रेय) र जसपा नेपालको तर्फबाट श्यामसुन्दर शिल्पकार उम्मेदवार बनेका छन्। राजनीतिक दलको तर्फबाट यस क्षेत्रमा एकजना मात्र महिला उम्मेदवार रहेकी छन्। यस क्षेत्रमा मितेरी पार्टी नेपालको तर्फबाट सावित्री न्यौपाने उम्मेदवार रहेकी हुन्।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का तर्फबाट चन्द्रमान कोजु त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट विष्णुहरि न्हिसुतु, नेकपा (संयुक्त)बाट दामोदर पाण्डे र प्रगतिशील लोकतान्त्रिक पार्र्टीका तर्फबाट रवि खाइजु पनि यस क्षेत्रमा उम्मेदवार छन्। दलका उम्मेदवारविरुद्ध यस क्षेत्रमा ९ जना स्वतन्त्र उम्मेदवारसमेत छन्।
नेमकिपाले भक्तपुरलाई पछि पारेको आरोप
भक्तपुरमा नेमकिपाको विरोधमै प्रतिस्पर्धी उम्मेदवारले जोड लगाइरहेका छन्। प्रमुख दलका उम्मेदवारहरू नेमकिपाले भक्तपुरलाई पछि पारेको आरोप लगाएका छन्। केन्द्रीय सत्तामा पहुँच राख्न नसक्दा भक्तपुर अपेक्षाकृत अघि बढ्न नसकेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका अधिवक्ता हरिराम लवजु बताउँछन्। नेकपा (एमाले)का नेता सोमप्रसाद मि श्र पनि अन्य दलहरूलाई शासक दल भन्ने नेमकिपाले भक्तपुरमा वर्षौंदेखि निरंकुश शासन चलाइरहेको आरोप लगाउँछन्।
त्यसैगरी, रास्वपाका उम्मेदवार रुकेश रञ्जित देको मिवा इतापाखे आयोजनाबाट नेमकिपा नेतृत्वको नगरपालिकाले सयौं किसानलाई पीडित बनाएकोले नेमकिपा किसानको पार्टी नरहेको भन्दै मत मागिरहेका छन्। कांग्रेसका उम्मेदवार किरण न्यौपाने र राप्रपाका उम्मेदवार भरतबहादुर थापाले पनि आफ्नो प्रतिस्पर्धी नेमकिपा नै देखेका छन् र नेमकिपाको मत आफूतिर तान्न प्रयासरत छन्। नेमकिपाले विश्व राजनीतिको टिप्पणी गर्ने तर स्थानीय समस्या समाधानमा चासो नदिने उनीहरूको भनाइ छ।
यस्तो छ चुनावी गणित
२०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ४२ हजार ७ सय ६१ मतले विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्दी ११ हजार ९ सय ६८ मतसाहित नेकपा एमालेका उम्मेदवार नवराज गेलाल रहे। गेलाल जिल्ला समन्वय समितिमा पूर्वप्रमुख हुन्।
त्यसबेला ९ हजार ३ सय ३ मत ल्याएर तेस्रो भएका राप्रपाका भरतबहादुर खड्का यसपटक पनि सोही पार्टीबाट उम्मेदवार रहेका छन्। उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनील गोठेले ५ हजार २ सय ८३ मत ल्याएका थिए भने कांग्रेस र रास्वपाका उम्मेदवार थिएनन। तत्कालीन नेकपा माओवादीका उम्मेदवारले १ हजार ४ सय ४ मत रहेको देखिन्छ। रास्वपाको यो क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार नरहे पनि समानुपातिकतर्फ ११ हजार ३ सय १ मत आएको थियो। त्यस्तै, कांग्रेसले पनि समानुपातिकतर्फ ८ हजार ९ सय ४७ मत सुरक्षित गरेको थियो।
नेमकिपाको शान्त तयारी
नेमकिपा आफ्ना उम्मेदवार तथा नेताहरूबारे उठेका स्थानीयका प्रश्नमा विभिन्न चोटाकोठा बैठक तथा चोक र डबलीमा भेला गरी स्पष्ट पारिरहेको छ।
किसान आन्दोलनबाट स्थापित बनेको नेमकिपा पछिल्लो समय भने स्थानीय पालिकामा लगातार नेतृत्व गर्दै जनतासँग जोडिएको छ। शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पूर्वाधार विकासमा भक्तपुर मोडल नै बनाएको भक्तपुर नगरपालिकाको कारण नेमकिपाप्रति स्थानीय निरन्तर आकर्षित भइरहेका छन् र स्थानीय सरकारको सत्ता सञ्चालन नै प्रतिनिधिसभामा समेत जितको आधार बन्दै आएको देखिन्छ। भक्तपुर नगरपालिकामा ८० प्रतिशत मत सुरक्षित गर्दै आएको कारण नेमकिपा प्रतिनिधिसभाको निर्वाचनमा पनि अन्य दललाई भारी हुने गरेको छ। चाँगुनारायणको मत दलहरूबीच बाँडिने र भक्तपुरको भारी मत नेमकिपामा खनिने प्रवृत्ति यसपटक पनि कायम रहनेमा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ढुक्क छन्।
नेमकिपाको नेतृत्व रहेको भक्तपुर नगरपालिकाले विद्यालय, कलेज र अस्पताल स्थापना गरी भक्तपुरका नागरिकसहित देशभरका जनतालाई सेवा दिँदै आएको भन्दै सुवाल जनताले नेमकिपाबाहेक नरोज्ने विश्वास व्यक्त गर्छन। उनी भन्छन्, ‘जनमुखी सेवा अन्य दलबाट प्राप्त हुन सक्ने कि नसक्नेबारे मतदाताले मनन गर्नुपर्छ, तीर्खा लाग्यो भन्दैमा विष पिउनु हुँदैन।’ पार्टी सचिवसमेत रहेका सुवाल मन्त्री हुने र सरकार बनाउने आफ्नो पार्टीको नीति नरहेको तर सशक्त प्रतिपक्षको भूमिका निभाएकै कारण मतदाताले मत दिने दाबी गर्छन्।
स्थानीय तहकोे मतपरिणाम अनुसार नेमकिपाका नगर प्रमुखका उम्मेदवारले भक्तपुरमा २९ हजार २ सय ५२ र चाँगुनारायणका उम्मेदवारले ल्याएको ३ हजार २ सय ६७ गरी मत ३२ हजार ६ सय १९ सहित पहिलो स्थानमा छ। त्यस्तै, कांग्रेसका उम्मेदवारले चाँगुनारायणमा ९ हजार ५ सय ५० र भक्तपुरमा ३ हजार ४ सय ७ गरी कुल मत १२ हजार ९ सय ५७ ल्याएका थिए। एमालेले चाँगुनारायणमा ९ हजार १ सय ६० र भक्तपुरमा २ हजार ८ सय ४१ गरी कुल मत १२ हजार १ मतसहित तेस्रो स्थानमा छ। स्थानीय तहको नतिजाअनुसार चौथोमा राप्रपा र त्यसपछि तत्कालीन माओवादी केन्द्र रहेको छ।
नयाँ मतदाता छैनन् निर्णायक
अघिल्लो प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर–१ मा कुल मतदाताको संख्या १ लाख २ हजार ५ सय ५८ रहेको थियो। यो वर्ष सो संख्या बढेर १ लाख ७ हजार ५४ पुगेको छ। अघिल्लोपटककै मतदाता यसपटक पनि जित वा हारका लागि निर्णायक छन्।
यस टक बढेका ४ हजार ४ सय ९६ जना मतदाता ३० हजार बढी मतान्तरको हारजितमा निर्णायक देखिँदैनन्। नेमकिपालाई रोक्न प्रयास गरे पनि परम्परागत ठूला दललाई पुरानै मतदाताको मत जोगाउन र नयाँ दललाई मतदाता बढाउन संघर्ष गर्नुपर्ने दबाब छ।संजीप घिमिरे। अन्नपूर्ण पोष्ट















