प्रतिनिधि सभा सदस्यका उम्मेदवार मणिराम फुयालले काठमाडौं क्षेत्र नं. २ को समग्र विकास, पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नाङ्गलेभारेस्थित ढुङ्गाना गाउँमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पिउने पानी व्यवस्थापन तथा युवाहरूका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने जानकारी पनि दिनुभयो । “जनताको विश्वास नै मेरो सबै भन्दा ठूलो शक्ति हो, म पदका लागि होइन, जिम्मेवारीका लागि अघि बढेको हुँ”– उहाँले भन्नुभयो ।
उहाँले विगत लामो समयदेखि सामाजिक अभियान, विकास निर्माण तथा सङ्गठनात्मक जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुहुँदै अब त्यस अनुभवलाई संसद्मार्फत प्रभावकारी नीति निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
फुयालले क्षेत्र नं. २ लाई आधुनिक, सुरक्षित र समृद्ध क्षेत्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै यसका लागि सम्पूर्ण मतदातासँग सहयोग र समर्थनको अपिल गर्नुभएको छ ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो ।















