एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

0

काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका १२१ वटा घटना घटेका छन्।

प्रेस काउन्सिल नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काउन्सिलमा दर्ता भएका निवेदन तथा नियमित अनुगमनका आधारमा सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म प्रेस स्वतन्त्रता हननसम्बन्धी १२१ घटना अभिलेख भएका हुन्।

विवरणअनुसार सबैभन्दा बढी धम्की तथा दुर्व्यवहारका ५० घटना दर्ता भएका छन्। यस्तै, आक्रमण तथा कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा तथा अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसासम्बन्धी एक घटना अभिलेख गरिएको काउन्सिलले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२ घटना घटेका छन्। त्यसपछि मधेस प्रदेशमा २७, सुदूरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनी र गण्डकीमा समान ६–६ तथा कर्णाली प्रदेशमा पाँच घटना अभिलेख भएका छन्।

लैङ्गिक आधारमा एक वर्षको अवधिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार तथा सञ्चार माध्यम प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोधमा परेको काउन्सिलको तथ्याङ्क छ।

यस अवधिमा प्रेस स्वतन्त्रता दुरूपयोगसम्बन्धी १० वटा घटना पनि घटेका छन्। तीमध्ये बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णाली प्रदेशमा एक घटना भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।