बुढानीलकण्ठ नगरपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न 

0

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्तरुपमा गरिएको कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । स्थानीय तहमा न्यायिक पहुँच विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा न्यायपालिका र स्थानीय सरकार बिचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठा राम अधिकारी, उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश लालबहादुर कुँवर, माननीय न्यायाधीश चन्द्रबहादुर सारू, राजकुमार खतिवडा र सूर्यप्रसाद पराजुलीको उपस्थिति रहेको थियो । साथै नगर उप–प्रमुख अनिता लामा, उच्च अदालत पाटनका रजिस्ट्रार अशोककुमार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, उप–रजिस्ट्रार दिव्य राज घिमिरे, उच्च अदालत वार एसोसिएसन, पाटनका अध्यक्ष विदुरप्रसाद ढुङ्गाना तथा उच्च अदालतका अधिकृत लोचन ढकाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर उप–प्रमुख अनिता लामाले  स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख मिठा राम अधिकारीले स्थानीय तह र न्यायपालिकाबीचको सहकार्यले नागरिकलाई सहज, छिटो र विश्वासयोग्य न्याय सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने स्पष्ट गर्नुभयो ।  उहाँले यस कार्यक्रमहरूले स्थानीय स्तरमै न्यायप्रति जनविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित न्यायाधीशहरूले पनि न्यायपालिकाले नागरिकको पहुँचमा पुगेर सचेतना फैलाउने प्रयास आवश्यक रहेको बताउँदै, न्यायमा बाह्य पहुँच जस्ता कार्यक्रममार्फत न्यायिक सेवाको प्रभावकारिता बढ्ने र नागरिकमा न्यायप्रतिको भरोसा थप सुदृढ हुने धारणा व्यक्त गर्नुभएको थियो ।