ललितपुर । कोन्ज्योसोम गाउँपालिकामा सुुशासनमैत्री सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकामा हरेक समस्यासँग समन्वय गर्न सक्ने समन्वयकारी राजनीतिक नेतृत्व र नीति नियम र कानुुनलाई आधार मानेर काम गर्ने प्रशासनिक नेतृत्वका कारण गाउँपालिकामा सुशासन मैत्री सेवा प्रवाह हुँदै आएको हो ।
गाउँपालिकामा सेवाग्राहीले प्रत्यक्षरुपमा सुशासनको अनुभूती हुने गरी सेवा प्रवाह गर्दै आएको छ । गाउँपालिकाले प्रदान गर्ने सबै सेवालाई सेवाग्राहीको सहज पहुँच हुने गरी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै गएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले गाउँपालिकामा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी नगर प्रवक्ता, सूचना प्रविधि अधिकृतको व्यवस्था गरिएको जानकारी दिनुुभयो । सेवा प्रवाह गर्ने क्रममा कुनै समस्या आइपरे तत्काल समस्याको समाधान गर्ने गरिएको अध्यक्ष लामाले स्पष्ट पार्नुुभयो ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँसभाले पारित गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयन गरिरहेको, गाउँ कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि कर्मचारीलाई निर्देशन प्रदान गर्ने गरिएको छ ।