श्री दुप्चेश्वर महादेव मन्दिरको धान्य पूर्णिमा मेलाबाट भेटीमा ८ लाखभन्दा बढी आम्दानी

3

कविलास, नुवाकोट:
श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेलाबाट यस वर्ष भेटीबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) आम्दानी भएको छ। भेटी गणना समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सरोकारवालाहरूको उपस्थितिमा पारदर्शी तरिकाले सम्पन्न गरिएको जानकारी दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक शंकरबहादुर थापाले दिनुभयो।

मेलामा जम्मा भएको भेटीको हिसाब-किताबलाई पारदर्शी बनाउन कोषले विशेष ध्यान दिएको थियो। मेलाको सम्पूर्ण खर्च विवरण भने आगामी पुष २ गते सार्वजनिक गरिने कोषले जनाएको छ।

यस वर्षको धान्य पूर्णिमा मेला कोषको आयोजनामा भक्तजनहरूको उल्लेख्य सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। यससँगै दुप्चेश्वर जात्रा र मेला औपचारिक रूपमा समापन भएको घोषणा गरिएको छ।