नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन सिंहबाट शिलान्यास

3

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ ।
सो अवसरमा उपप्रधान मन्त्री सिंहले रोग लागिसकेपछि थप मानसिक पिडा हुने भएकाले राग लाग्न नदिन सबै जना सचेत र सजक हुनुपर्ने बताउनुभयो । सिंहले अस्पतालमा सञ्चालन हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबिचको सम्बन्धलाई अझ अगाडि बढाउने र नागरिकले पनि सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नतिले भक्तपुर मात्र नभई छिमेकी जिल्लाका नागरिकले समेत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य केन्द्रको रूपमा स्थापना भएर आजको अवस्थामा बिस्तार गर्न योगदान दिने पूर्व जनप्रतिनिधि र कर्मचारीहरूलाई पनि बिर्सन नहुने धारणा राख्नुभयो ।

नेपालका लागि दक्षिण कोरियाली राजदूत ताईयोङ्ग पार्कले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नेपाल र कोरिया सरकारको मित्रताको प्रतीक रहेको बताउनुभयो । उहाँले कोरियाली सरकार सदैव नेपाल र नेपालीको साथमा रहेको बताउँदै अस्पतालको स्तर वृद्धिमा सधैँ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहान कङ्गोले नेपालको स्वास्थ्य क्षेत्रको विकास र बिस्तारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत सहयोग गर्न पाउँदा कोरियाली सरकार खुसी रहेको बताउनुभयो ।

 

त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो “क्युङ्ग हि नेपाल स्वास्थ्य केन्द्रका रूपमा सन् १९९९ मा एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रूपमा मध्यपुर थिमिमा प्रवेश भई क्रमशः कोरिया नेपाल मैत्री अस्पताल हुँदै वि. सं. २०७५ सालबाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको रूपमा नगरवासीहरूलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो, “यस अस्पताललाई दक्षिण कोरिया सरकारको ९.५ मिलियन युएस डलर (करिब १ अर्ब २८ करोड बरावरको सहयोगमा निर्माण हुन गइरहेको दोस्रो चरणको सुविधा सम्पन्न भवनले नगरवासीहरू लगायत आसपासका जिल्ला बासीलाई समेत अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अपेक्षा लिएको छु ।”


उहाँले वार्षिक रूपमा १ लाखलाई सेवा प्रदान गर्दै आएकोमा गत वर्ष करिब दुई लाखलाई उपचार सेवा उपलब्ध गराएको बताउनुभयो । त्यस्तै अन्य विभिन्न अस्पतालसँग पनि सहकार्य गर्दै सेवा प्रभाव हुँदै आएको जानकारी दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले कोरिया सरकारको निरन्तर सहयोग र स्थानीय सरकार मध्यपुर थिमि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, जनप्रतिनिधिहरूको लगाव, स्वास्थ्य सेवामा अभिरुचि, निर्देशन, अनुगमनको कारण यो अस्पताल देशकै अब्बल स्वास्थ्य सेवा प्रदायक संस्थामध्ये एक बन्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि गुणस्तरीय सेवाका लागि स्थानीय सरकार निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. डी के रोशन र मध्यपुर थिमि नगरपालिका आर्थिक विकास महाशाखा प्रमुख तुलसीभक्त तकोले दक्षिण कोरियाको १ अर्ब २८ करोडको सहयोगमा सुविधा सम्पन्न नयाँ भवन निर्माण हुन लागेको जानकारी दिँदै भवन दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको बताउनुभयो ।