बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकमा

5

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकार बिचको समन्वयमा पुनः निर्माणको काम गरिने बताउनुभएको छ ।

काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिकास्थित बाढी पहिरो प्रभावित क्षेत्रको शनिवार अवलोकन गर्ने क्रममा उहाँले पुनः निर्माण एवं पुनर्वास कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारबिच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभएको हो  ।

‘प्रदेशभित्रका बाढी प्रभावित स्थानीय तहमा पुनः निर्माण एवं पुनर्वासका कार्यक्रम गर्न योजना बनाइने र क्रमशः कार्यान्वयनमा गइनेछ,’ लामाले भन्नुभयो , ‘यसका लागि पनि तिनै तहको सरकारबिच सहकार्य आवश्यक पर्दछ ।’

बाढी पहिरोबाट मृत्यु भएका प्रति परिवारलाई कार्यविधि अनुसार नै रु एक लाख राहत रकम प्रदान भइरहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारसँग विपद् व्यवस्थापनका लागि बजेट भएको बताउनुभएको थियो  ।

मुख्यमन्त्री लामाले विपद्प्रभावितका लागि अपुग राहतका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको बताउनुभएको थियो  ।

असोजको दोस्रो साता आएको बाढीपहिरोमा उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ताको अवस्थामा छन् ।

बाढीपहिरोले दुई सय ८२ घरपरिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोले चार सय ८१ घर पूर्णरुपमा र एक हजार एक सय ६३ घरमा आंशिक क्षति पुगेको छ ।

यसैबिच गाउँपालिकाले बाढी पहिरोको क्षति र पुनः निर्माण तथा पुनः स्थापनाका लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्री लामाको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि बजेट व्यवस्थापन गर्न अनुरोध गर्नुभएको थियो ।

उक्त अवलोकन कार्यक्रममा मुख्यमन्त्रीका साथै प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोमा हालसम्म ७८ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्याङ्क अनुसार बाढी पहिरोबाट जिल्लामा ७८ जनाको मृत्यु र ७५ जना घाइते छन् । ५ जना अझै बेपत्ता छन् ।

पालिकाअनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमध्ये १६ जना बालबालिका रहेका छन् ।