बाढी पहिरोबाट प्रभावित विद्यालयको प्राविधिक क्षति विवरण दुई दिन भित्र पठाउन निर्देशन : खड्गी

24

काठमाडौँ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले असोज ११ र १२ गते आएको बाढी पहिरोका कारण प्रभावित भएका विद्यालयको प्राविधिक मूल्याङ्कन सहितको विवरण दुई दिन भित्र बुझाउन निर्देशन दिनुभएको छ । मन्त्री खड्गीले धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ३ छाप डाँडा स्थित बाढी पहिरोको अनुगमनका क्रममा उहाँले उक्त क्षेत्रका विद्यालयमा भएको क्षतिको प्राविधिक मूल्याङ्कन सहित विवरण शिक्षा विकास निर्देशनालयमा पठाउन निर्देशन दिनुभएको हो ।

विद्यालय लगायतका सार्वजनिक स्थलहरू तथा बाढी प्रभावित क्षेत्रहरूको अवलोकनका लागि निस्कनु भएको सामाजिक विकास मन्त्री खड्गीले बाढी पहिरोका कारण विद्यालय पठन पाठनमा कुनै समस्या आउन नदिने समेत बताउनुभएको थियो ।

उहाँले प्रदेश भित्रका विद्यालय देखि शैक्षिक संस्थाको क्षतिको विवरण यकिन गरी पुन निर्माण तथा जिर्णोद्दारका लागि सेभ द चिल्ड्रेन तथा संयुक्त राष्ट्रसङ्घ सँग पनि पहल भई रहेको बताउनुभएको थियो । उहाँले शैक्षिक क्षेत्रमा भएको क्षतिले आफू निकै मर्माहित भएको बताउँदै समस्या समाधानका लागि आफू दिन रात लागि परेको समेत बताउनुभएको थियो ।

मन्त्री खड्गीका साथमा बागमती प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ र सामाजिक विकास कार्यालय प्रमुख लोक वहादुर वाईवा लगायत स्थानीय शिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उहाँहरूले छाप डाँडाको महाँकालेश्वर मावि र त्रिकुटेश्वरी आधारभुत विद्यालयमा भएको क्षतिको अवलोकन गर्नुभएको थियो ।