भक्तपुर । रिकभरिङ्ग नेपाल आफूहरू माथि सुनियोजित तरीकाले चरित्रहत्या गरिने प्रयास भइरहेको भन्दै प्रेश विज्ञप्ति जारी गरेको छ ।
विभिन्न सञ्चार माध्यमहरूमा आफ्नो संस्थाको विषयमा अनगल प्रचार गरी संस्थाको चरित्र हत्याको प्रयास भएको भन्दै संस्थाले विज्ञप्ति मार्फत आफ्नो संस्थाको विषयमा आएका समाचारहरू मिथ्या भएको जनाएको हो ।
यस संस्था र संस्थाका केही पदाधिकारीहरूको नाम र तस्बिर राखी अरबौँको भ्रष्टाचार गरेको भनी मिति २०८१ श्रावण २ गते जनचासो टाइम्स लगायत विभिन्न अनलाइन तथा प्रिन्ट मिडियामा प्रकाशित कपोकल्पित र भ्रामक समाचार प्रति संस्थाले गम्भीर ध्यानाकर्षण गराएको छ ।
संस्थाको अध्यक्षको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ विगत २१ वर्ष देखि लागू औषध प्रयोगकर्ताहरूको हकहितको पक्षमा कार्यरत रहँदै आएको यस संस्थाले आफ्नो कार्यक्रम र आर्थिक गतिविधिहरू नेपाल सरकारको प्रचलित ऐन, आर्थिक नियमावली तथा दातृ संस्थाहरूको आर्थिक अनुशासन भित्र रहँदै वार्षिक रूपमा लेखा परीक्षण तथा संस्था नवीकरण गर्दै आएको छ । यसका साथै विगत केही वर्ष देखि नेपाल सरकार समाज कल्याण परिषद्बाट समेत वार्षिक रूपमा कार्यक्रम तथा आर्थिक अनुगमन गर्दै आएको अवस्थामा विना प्रमाण र संस्थाको यथोचित सत्य तथ्य जानकारी नलिई कपोकल्पित र भ्रामक समाचार प्रकाशन भएकोमा हाम्रो गम्भीर आपत्ति छ ।
संस्था र यसका पदाधिकारीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको भनी समाचार प्रकाशन भएको हकमा आयोगमै सम्पर्क गरी सोधपुछ गर्दा पनि केही यकिन जानकारी पाउन असमर्थ भयौँ । यस संस्था र पदाधिकारीहरूको बारेमा समाचार प्रकाशन गर्नु अघि सम्बन्धित पदाधिकारीहरूसँग प्रतिक्रिया समेत नलिई पदाधिकारी र सदस्यहरू बिच मनमुटाब उत्पन्न गराउने कुन्छित उद्देश्य राखी अदालतले ठहर गर्नु पूर्व नै अपराधी सरह फोटो समेत प्रकाशित गर्ने कार्यले संस्था र यसका पदाधिकारीहरूको मानमर्दन तथा बेइज्जती गर्ने कार्य ूजनचासो टाइम्सू ले गरेको संस्थाको ठहर छ । साथै, यस प्रकारको समाचार प्रकाशन पत्रकार आचार संहिता, २०७३ संशोधित २०७६ समेत विपरीत रहेको हुँदा उक्त समाचार प्रकाशक विरुद्ध प्रेस काउन्सिल, साइवर ब्युरो लगायतका निकायमा कानुनी प्रक्रिया अगाडी बढाउने निर्णय गरेका छौँ ।
तसर्थ, मिति २०८१ श्रावण २ गते जनचासो टाइम्स नामक अनलाइन पत्रिकामा छापिएको भ्रामक र कपोकल्पित समाचारमा कुनै सत्यता नरहेको पुनः जोड दिँदै नेपाल सरकारको सम्बन्धित निकायद्वारा कुनै पनि समयमा निरीक्षण, अनुगमन तथा लेखा परीक्षण गर्न चाहेमा संस्था तत्पर रहेको ब्यहोरा जानकारी गराउन चाहान्छौं ।
अन्यमा, संस्था र यसका पदाधिकारीहरूले वर्तमान र भविष्यमा पनि प्रचलित कानुन र नियमहरूको परिधिमा बसी लागू औषध प्रयोगकर्ताहरूको अधिकारको रक्षाको निम्ति प्रतिबद्ध रहने जानकारी गराउँदछौँ ।