कोरोना नियन्त्रणका लागि स्थानीयस्तरमा कडाई

127

सुमन काफ्ले, इलाम । इलाममा असोज १ गते देखि खुलेका सार्वजनिक यातायातहरूमा कडाई गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, जिल्ला समन्वय समिति, इलामका प्रमुख गणेश प्रसाद बराल, जनप्रतिनिधि तथा सरोकारवालाहरू बिच बसेको बैठकले सार्वजनिक यातायातमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले यात्रु प्रस्थान विन्दुमा नै यात्रुको गन्तब्य, नाम तथा ठेगाना लगायत सम्पूर्ण विवरण तयार गर्ने, तोकिएको भन्दा बढी भाडा लिन नपाइने लगायतका निर्णय गरेको छ । उक्त नियम उल्लंघन गरेमा कारबाहीको दायरामा ल्याउने समेत निर्णय भएको यातायात टाइम्स डटकमलाई जानकारी प्राप्त भएको छ ।

यस्तै जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई पनि सरकारले तोकेको मापदण्ड अनुसार चल्न आग्रह गरिएको छ । यता कोरोना भाइरसको बढ्दो जोखिमलाई केन्द्रित गर्दै बैठकले सीमा नाकाहरूमा पनि थप कडाई गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानीहरू, होम क्वारिन्टिनमा बस्दा अपनाउनु पर्ने मापदण्ड, स्वास्थ्य परीक्षण गर्दा अपनाउनु पर्ने मापदण्डका विषयमा पनि विभिन्न सञ्चार माध्यमहरूबाट जनचेतनामूलक सामाग्रीहरू प्रसारण गरी आम जनमानसमा सन्देश प्रवाह गर्ने समेत निर्णय गरेको छ ।