एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात

88

काठमाडौं । पेट्रोलियम पाइपलाइनबाट एक वर्षको अवधिमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
नेपाल र भारतको संयुक्त लगानीमा बनेको अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको हो ।

गत वर्ष भदौ २४ देखि नियमितरुपमा पाइपलाइनमार्फत डिजेल आयात भइरहेको निगमले जानकारी दिएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आपूर्ति गर्दा ढुवानी भाडामा एक अर्ब रकम बचत भएर पेट्रोलियम पदार्थको गुणस्तरमा सुनिश्चित, प्रदुषण न्युनिकरण सहयोग र रक्सौल नाकामा हुने ट्राफिक जाममा समेत हटेको निगमको भनाइ छ ।

एक वर्षको अवधिमा मुलुकमा पेट्रोलियम पाइपलाइनबाट तेल आयात गर्दा ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको छ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी हुँदा एक अर्ब रुपैयाँ बचत भएको हो ।

पछिल्लो समय कोराना भाइरसका कारण इन्धन खपत कम हुँदा पाइलाइन आउने तेलको आयात पनि कम भएको छ ।

हाल हप्तामा तीन दिनमात्रै पाइपलाइन सञ्चालनमा आइरहेको निगमले जानकारी दिएको छ ।