कोरोनाले शुन्यमा झारेको यातायात व्यवसाय, के भन्छन् महासंघ पदाधिकारीरू ?

240

चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसले यतिबेला विश्वलाई नै आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा पनि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमित देखिएसंगै सरकारले गत चैत्र ११ गते देशभर लकडाउनको घोषणा गर्‍याे। देशमा लकडाउन भए पश्चात् सबैभन्दा बढी यातायात क्षेत्र प्रभावित बन्यो । करिब ५ महिना यता लामो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने छोटो दुरीका यातायात साउन ८ यता शर्त सहित चले । तथापी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि देशका विभिन्न भू–भागमा जारी भएको निशेधाज्ञा पश्चात् छोटो दुरीका यातायात पनि बन्द भए । यस्तो अवस्थामा यातायात व्यवसायीहरु के भन्छन् त ? हामीले केही यातायात व्यवसायीसंग कुरा गरेका छौं । यातायात व्यवसायीहरुको भनाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

योगेन्द्रनाथ कर्माचार्य, अध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

लकडाउन र निशेधाज्ञाका कारण यातायात क्षेत्र धरापमा परेको छ । ठूलो संख्यामा मजदुरहरू बेरोजगार बनेका छन् । ऋण तिर्न सक्ने अवस्था छैन । अब त सामान्य अवस्था भए पनि यातायात सञ्चालन गर्ने अवस्था छैन । यतिबेला यातायात व्यवसाय शून्यमा झरेकाे छ। सरकारले लकडाउन पिरियडको ब्याज मिनाहा गर्नुपर्छ । सहुलियत ब्याजको व्यवस्था गर्नुपर्छ । अब बैंकको किस्ता तिर्ने म्याद २ वर्ष थप्नु पर्छ । किस्ताको ब्याजदर घटाएको खण्डमा मात्रै यातायात व्यवसायीलाई थोरै राहतको महशुस हुन्छ, नभए यातायात क्षेत्र माथि उठ्न निकै गाह्रो छ ।

विजय बहादुर स्वाँर, बरिष्ठ उपाध्यक्ष-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

नेपालको यातायात क्षेत्र यतिबेला भेन्टिलेटरमा छ । भेन्टिलेटरबाट स्वास्थ्य बनाएर बाहिर निकाल्ने हो कि आर्यघाट पुर्‍याउने यो सरकारको नै जिम्मा हो । पटक-पटक यातायात व्यवसायीलाई आश्वासन मात्र दिने काम भएको छ । नतिजाउन्मुख काम खासै देखिएको छैन । अब सरकारलाई ब्युँझाउने बेला आएको छ ।

सरोज सिटौला, महासचिव,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

यातायात व्यवसायी ठूलो खाडलमा परेका छन् । लामो समयसम्म थन्किएर बसेका यातायातका साधनहरू लकडाउन खुलेपछि पनि चलाउने अवस्था थिएन । मेसीनरी सामाग्री भएकाले बिग्रिएर गााडी सडकसम्म निकाल्न सक्ने अवस्था थिएन, जसोतसो बनाएर २-४ दिन चलायौं । अहिले निशेधाज्ञाका कारण गाडीहरू फेरि उही हालतमा थन्किएका छन् । गाडीमा झारपात उम्रिएका छन् । इञ्जिनहरू सबै बिग्रिसके । अब बनाएर सडक सम्म ल्याउन ठुलै पुँजीको आवश्यकता पर्दछ । यातायात क्षेत्र निकै थलिएको छ । यो क्षेत्रलाई सरकारले संकटकालको घोषणा गर्नुपर्छ । यातायात व्यवस्था विभागले खासै प्रभावकारी काम गर्न सकेको छैन । सरकारले खै हेरेको ? यस्तो अवस्थामा पनि केही गर्न नसक्ने भए विभाग नै हटाए भैहाल्यो नि । किन चाहियो विभाग ?

सरोज श्रेष्ठ, संयोजक, प्रदेश नं १, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

सरकारले नाटकीय रुपमा लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउनको अन्त्य भयो भनिए पनि लामो दूरी चल्ने यातायातका साधन अझै थन्किएकै छन् । कोरोना कहर अझै सकिएको छैन भने २ दिन खुल्ला गरे जसरी किन बन्द गर्नु पर्यो ? अर्कोतर्फ निशेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिदा झन् अन्यौंल भयो । स्थानिय प्रशासनलाई अधिकार प्रत्यायोजन गर्नुको सट्टा प्रदेश सरकारलाई दिनुपर्ने सुझाव संघीय सरकारलाई दिन चाहान्छु । अनि जुन व्यवसायीहरूलाई पुनर्कर्जा दिने भनिएको छ, त्यसको प्रक्रिया अत्यन्तै जटिल छ । यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

जगरनाथ प्रसाद कलवार, संयोजक, प्रदेश नं २, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

नेपालमा कोरोनाले सबैभन्दा बढी प्रदेश नं २ लाई नै प्रभावित बनाएको छ । लकडाउन खुलिसकेपश्चात् देशका विभिन्न भू–भागमा गाडी चले तर प्रदेश नं २ मा चलेनन् । यस अर्थमा गत चैत्र ११ गतेबाट हालसम्म प्रदेश नं २ मा यातायात क्षेत्र पूर्ण रुपमा ठप्प छ । अब सामान्य अवस्था भएपनि व्यवसायीहरुले गाडी बाटोसम्म निकाल्न सक्दैनन् । किनकि अधिकांश गाडीहरू बिग्रिसकेका छन् । व्यवसायीसंग भएको पुँजीले यातायात मर्मत गर्न पुग्दैन र सरकारले पनि खासै वास्ता गरेको अवस्था छैन । त्यो भन्दा अगाडी त यहाँ सामान्य अवस्था हुन नै धेरै समय लाग्छ ।

धर्मराज रिमाल, संयोजक, वागमती प्रदेश, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

कोरोनाका कारण यतिबेला विश्वनै आक्रान्त छ । नेपालको यातायात क्षेत्र झन् ग्रसित छ । दशौं लाख मजदुर आश्रित भएको क्षेत्र हो यो । त्यसैले यातायात व्यवसायीसंगै मजदुरहरूमा पनि भोकमरी आउने स्थिति भइसकेको छ । अब त गाडी चलाउने स्थिति पनि छैन । मर्मत सम्भारको लागि पुँजीको आवश्यक पर्छ, जुन व्यवसायीहरूसंग छैन । अब सरकारले नै सडकसम्म गाडी ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।
अब सरकारले नै सडकसम्म गाडी ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।

टेकराज जोशी, संयोजक, सुदूरपश्चिम प्रदेश, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

लामो समयसम्मको लकडाउन, त्यसपछि निशेधाज्ञाले यातायात व्यवसायी अत्यन्त मर्कामा परेका छन् । सरकारले अब सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर गााडी चलाउने वातावरण बनाउनु पर्छ । चाडबाड नजिक आइसकेको छ । मजदुरहरु भोकभोकै मर्ने स्थिति आइसकेको छ । यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।