उपल्लो मुस्ताङको घमीमा सेटलाईट फार्म स्थापना

4

मुक्तिनाथ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ घमीमा शीतोष्ण बागवानी विकास केन्द्रको सेटलाईट फार्म स्थापना गरिएको छ । जलवायु परिवर्तनको असरका कारण माथिल्लो मुस्ताङमा धमाधम स्याउ लगायत अन्य फलफुलका खेतीहरू विस्तार हुन थालेपछि केन्द्रलाई आवश्यक पर्ने जग्गा प्राप्ति भएसँगै सेटलाईट फार्म स्थापना गरिएको हो ।

उपल्लो मुस्ताङमा स्याउसहित अन्य फलफुल खेती विस्तारसँगै कृषकलाई सहज हुने गरी ८ सय १ रोपनी एक आना जग्गा केन्द्रको नाममा ल्याइएपछि सेटलाइट फार्म स्थापना गरिएको कार्यालयका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । केन्द्र प्रमख आत्रेयले भन्नुभयो, ‘‘अब उपल्लो भेगमा स्याउ खेती विस्तारले तीव्रता पाउँछ, जलवायु परिवर्तनका कारण फलफुल खेती उकालो लागेको छ ।’’ केन्द्र स्थापनाका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरेपछि सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धि कार्यनीति, २०७९ बमोजिम प्राप्ति गरिएको थियो ।

उक्त फार्ममा स्याउ खेतीलाई प्राथमिकता दिएर ३५ भन्दा बढि स्याउका प्रजातीहरू विस्तार गरिने छ भने अन्य शीतोष्ण फलफूलहरु ओखर, कागजी बदाम, आरु, आरुवखडा, खुर्पानी, स्वीट चेरी, अंगुरको परीक्षण तथा विस्तार गरिने केन्द्र प्रमुख आत्रेयको भनाइ छ । जलवायु परिवर्तनको असरले माथिल्लो क्षेत्रमा फलफुल खेती फस्टाउन थालेपछि केन्द्रले लामो प्रयास गरी सेटलाईट फार्म स्थापना गरेको थियो । तल्लो र उपल्लो क्षेत्रमा विरुवा रोप्ने समय र स्याउ टिप्ने समेत करिब डढे महिना फरक हुने भएकाले नेपाली बजारमा मङ्सिर, पुस महिनामा पनि ताजा स्याउ बिक्री गर्न सकिने केन्द्रले जनाएको छ ।

सेटलाईट फार्म तथा स्थानीय कृषकको बगैचानमा अहिले पनि टिप्न बाँकी स्याउ रहेकाले अफ सिजनमा उपल्लो क्षेत्रका स्याउ बजारमा खपत गर्ने सहज हुने गरी फार्ममार्फत प्राविधिक ज्ञान समेत कृषकलाई हस्तान्तरण गरिने लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले बताउनुभयो । अध्यक्ष विष्ट भन्नुहुन्छ, ‘‘सेटलाईट फार्म स्थपना भएपछि अब बाँझो जमिनमा फलफुल खेती विस्तारका लागि प्राविधिक सहयोगका लागि समस्या हुँदैन, हामीले प्रयाप्त जनशक्ति व्यवस्थापनका लागि समेत अनुरोध गरेका छौँ ।’’

तल्लो मुस्ताङको थासाङ गाउँपालिकास्थित घाँसा क्षेत्रमा ३० वर्ष अगाडि स्याउ खेती हुने गरेकोमा अहिले स्याउको बोट समेत भेटाउन मुस्किल हुने गरेको अवस्थामा जलवायु परिवर्तनका कारण भविश्यमा हुनसक्ने असरलाई मध्यनजर गरी उपल्लो क्षेत्रमा समेत स्याउ खेती विस्तारलाई प्राथमिकता दिएको प्रमुख आत्रेयको भनाइ छ ।

गाउँपालिकाले स्थानीयलाई कृषि खेतीमा आकर्षित गर्न यन्त्र, उपकरणसहित विभिन्न अनुदानको सुविधा दिएको अध्यक्ष बिष्टको भनाइ छ । हाल घमीगाउँमा साढे ९ सय रोपनीमा स्थानीयले स्याउ खेती गरेका छन् ।

करिब ४३ घरधुरीले सामूहिक तथा एकल लगानीमा परीक्षणका लागि लगाइएको स्याउ खेती सफल भएपछि अहिले धमाधम खेती विस्तार भइरहेको छ । गाउँपालिकाको वडा नं २ सुर्खाङको ध्येगाउँका २६ घरधुरीले १२ सय रोपनीमा स्याउ खेती गरेका छन् । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि थामजुङमा बसाइ सरेको थिए । ध्येगाउँ समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा छ । उपल्लो मुस्ताङमा ताङ्वे, याराघारा लगायतका क्षेत्रमा स्याउ खेती गरिएको छ । उपल्लो मुस्ताङमा सिचाई लगायत विभिन्न समस्याका कारण सयौं हेक्टर जमिन अझै बाँझो छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले स्याउ खेतीलाई प्राथमकिता दिएर विरूवा तथा उपकरण र तालिम दिने गरेका छन् ।

तल्लो मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिमा हुने स्याउ जलवायु परिवर्तनको असर स्याउ लगायतका फलफुलमा समेत देखिने गरेको छ । हाल मुस्ताङमा समुन्द्री सतहबाट २६ सय देखि ३६ सय मिटर उचाईसम्म स्याउ खेती हुने गरेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र विसं २०२३ मा स्थापना भएको केन्द्रका चारवटा ब्लकमा ३५ प्रजातिका स्याउको बिरुवा छ  । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार उत्पादन बढेसँगै यसवर्ष १ अर्ब १० करोड २३ लाख ७०  हजार रूपियाँको स्याउको कारोबार भएको छ । मुस्ताङमा ८ सय ९२ क्षेत्रफलमा स्याउ खेती गरिएकोमा स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२  हेक्टर तथा उच्च घनत्वको (हाइब्रिड) ६० हेक्टरमा रहेको छ ।