बेथानचोकको कोसेली घरमा लोकल माडा र बेसार

0

बेथानचोक । बेथानचोक गाउँपालिकामा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । बेथानचोक गाउँपालिका मै उत्पादन भएको लप्सिको माडा-धुलो र बेसार खरिद गर्न सक्नुहुने गाउँपालिकाले जनाएको छ ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।उद्यमशीलता विकाससँगै आर्थिक समृद्धिमा कोसेली घर प्रभावकारी हुन जनाइएको छ ।
‘उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग समन्वय गरी प्रदेश सरकारले सहयोग गर्नेछ’ । सञ्चालित उक्त कोसेली घरबाट प्रत्येक वडामा उद्यमशीलता तालिम, बीउ पुँजी वितरण, महिला उद्यमी समूहबाट उत्पादित सामग्री खरिद तथा कोसेली घर सञ्चालनका लागि आवश्यक कार्य गरिने जनाइएको छ ।
गाउँपालिकाका अनुसार स्थानीय एक सय १० जना गृहिणी महिलाले उद्यमशीलता तालिम लिइसकेका छन् । जसमध्ये दुई महिला उद्यमी समूह गठन गरी एक–एक लाखका दरले बीउ पुँजी वितरण गराइएको छ ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आर्थिक समृद्धिका लागि गृहिणी महिलालाई उद्यमसँग जोड्दै सशक्तिकरणको उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताए ।
उनका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर १ मा बुनाइ तालिम, सर्वोत्तम लिटो, सातु, बाटेको धूप, ३ नम्बरमा कोलिन, सरफ, डल्लो साबुन, झोल साबुन, वडा नम्बर ४ मा मखमलको जुत्ता, चप्पल र थैली बनाउने तालिम सञ्चालन गरिएको थियो ।यस्तै वडा नम्बर ५ मा सिलाइकटाई र वडा नम्बर ६ मा अमिलो जातका फलफूलखेती तालिम सञ्चालन गरिएको थियो ।