मूलपानीमा लुटेरा समूहसँग मुठभेड, एक नाइके घाइते

0

काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा गएराति प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न समूहलाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोली चलाएको हो ।

गोली लागेर लुटेरा समूहका एक जना नाइके घाइते भएका छन् । उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन न्यूनतम बल प्रयोग गरिएको हो ।

यस घटनामा उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा दुई जना प्रहरीसमेत घाइते भएका छन् ।

आरोपीहरू गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्र आसपासमा लुटपाट तथा आतंक मच्चाउँदै आएका थिए । पक्राउ परेका व्यक्तिहरूको नाम अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।