भक्तपुर–२ मा राप्रपाबाट अधिवक्ता विक्रम थापाको उम्मेदवारी

0

भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट अधिवक्ता विक्रम थापालाई उम्मेदवार बनाएको छ।

थापा पेशाले कानुन व्यवसायी हुन्। उनी अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए।

भक्तपुर–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले विजय हासिल गरेका थिए। यस क्षेत्रबाट यसपटक नेकपा एमालेका महेश बस्नेत पुनः चुनावी मैदानमा उत्रिने भएका छन्। बस्नेत २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७० को संविधानसभा निर्वाचन र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीव खत्रीले टिकट पाइसकेका छन्। तर नेपाली कांग्रेसले अहिलेसम्म आफ्नो उम्मेदवार टुंगो नलगाउँदा क्षेत्र नम्बर २ मा राजनीतिक अन्योल कायमै रहेको छ।

प्रमुख दलका उम्मेदवारहरू मैदानमा उत्रिँदै जाँदा भक्तपुर–२ को प्रतिस्पर्धा रोचक र बहुकोणीय हुने देखिएको छ।