काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ।
विसं २०४८ देखि हालसम्म भएका सबै निर्वाचनमा डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आउनुभएका देउवाले यसपटक भने उम्मेदवारी नदिने निर्णय गर्नुभएको हो। उहाँका स्वकीय सचिव भानु देउवाका अनुसार देउवाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गर्नुभएको जानकारी दिनुभएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फ उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। यही सन्दर्भमा देउवाले चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय गर्नुभएको हो।
यो निर्णयसँगै देउवाको करिब ३४ वर्ष लामो अविरल संसदीय यात्रामा ब्रेक लागेको छ। देउवा नेपाली राजनीतिका अनुभवी नेता हुन् र उनी ६ पटक प्रधानमन्त्री भइसकेका छन्।
उनको उम्मेदवारी नआउनु नेपाली कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत अर्थपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।















