झापा । झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच कडा तथा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
उम्मेदवार मनोनयनको अन्तिम तयारी भइरहँदा दुवै जना उम्मेदवार बन्ने निश्चितजस्तै भएको बताइएको छ । नेकपा एमालेका तर्फबाट निवर्तमान सभामुख घिमिरे उम्मेदवार बन्ने तय भएको नेकपा एमाले झापाले जनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख रानामगरले उम्मेदवारी दर्ता गर्ने तयारी गर्नुभएको छ ।
नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । यस्तै नेपाल कम्युनिष्ट पार्टीले धर्मशिला चापागाईंलाई उम्मेदवारका रूपमा अघि सारेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट स्वागत नेपालले उम्मेदवारी दर्ता गर्ने तयारी रहेको जनाइएको छ ।
घिमिरे र रानामगर दुवै झापा–२ कै स्थायी बासिन्दा हुनुहुन्छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा घिमिरे यही निर्वाचन क्षेत्रबाट निर्वाचित भई सभामुख बन्नुभएको थियो भने रानामगर समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
प्रतिनिधिसभाका निवर्तमान सभामुख र उपसभामुखबीच प्रत्यक्ष निर्वाचनमा हुने प्रतिस्पर्धाले झापा–२ मा मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमा समेत विशेष चासो र ध्यान आकर्षित गरेको छ ।















