काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीसहित उहाँहरूले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिनुभएको हो ।
मन्त्री खरेलले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको हो भने मन्त्री गुप्ताले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा राजीनामापत्र बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने निर्णयसँगै दुवै मन्त्रीले पदबाट राजीनामा दिएको बताइएको छ । यद्यपि, राजीनामापत्रमा उहाँहरूले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने भन्ने विषय खुलाउनुभएको छैन । जेनजी आन्दोलनपछि बनेको सरकारमा सहभागी मन्त्रीहरू प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट होमिने अनुमान गरिएको छ ।
राजीनामापत्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षालाई सम्बोधन गर्न दलीय राजनीतिमार्फत सक्रिय भूमिका निर्वाह गर्नु उपयुक्त ठानेको उल्लेख गर्नुभएको छ । साथै, सरकारको स्वतन्त्र पहिचानमा असर नपरोस् भन्ने उद्देश्यले दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै पदबाट राजीनामा दिने निर्णय लिएको उहाँले स्पष्ट गर्नुभएको छ ।















