राष्ट्रिय सभा सदस्य तथा काँग्रेस नेता बलदेव बोहराको निधन

0

कञ्चनपुर । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा बुधबार ७४ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

विगत तीन दशकदेखि मधुमेहको नियमित औषधि सेवन गर्दै आउनुभएका नेपाली काँग्रेस कञ्चनपुरका संस्थापन नेता बोहरा किड्नीसम्बन्धी समस्याका कारण काठमाडौँमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा बुधबार दिउँसो ३ बजे उहाँले प्राण त्याग गर्नुभएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहनुभएका राष्ट्रिय सभा सदस्य बोहरा स्वच्छ छवि र इमानदार नेताका रूपमा परिचित हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनमा सक्रिय योगदान पुर्‍याउनुभएका उहाँले सधैँ युवा पुस्तालाई अगाडि बढ्न प्रेरित गर्दै आउनुभएको थियो ।

विसं २०३६ सालमा विद्यार्थी आन्दोलनका क्रममा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्पर्कबाट उहाँले काँग्रेसको राजनीतिक जीवन सुरु गर्नुभएको थियो । विसं २०४२ सालमा साबिक सुडा गाउँ पञ्चायतको निर्वाचनमा पराजित भए पनि समाजसेवा र राजनीतिलाई निरन्तरता दिँदै अघि बढ्नुभएको थियो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ हजारा स्थायी घर भएका बोहरा विसं २०४९ मा जिल्ला विकास समिति कञ्चनपुरको सभापति रहनुभएको थियो । साथै, विसं २०५२ सालमा शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्री कार्यकालमा उहाँ सल्लाहकारको जिम्मेवारीमा पनि रहनुभएको थियो ।

दोस्रो संविधान सभा निर्वाचनमा संविधान सभा सदस्य रहनुभएका बोहरा विसं २०८० सालको निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । पार्टीभित्र महत्वपूर्ण पदका लागि कहिल्यै दाबी नगरेका उहाँ जिल्ला सदस्यकै रूपमा सीमित रहे पनि जिल्लामा सम्मानित र भरोसायोग्य नेताका रूपमा चिनिनुहुन्थ्यो ।

स्वच्छ छवि, मिलनसार र हक्की स्वभावका नेता बोहराको निधनले नेपाली काँग्रेसमा शोक छाएको छ । उहाँका श्रीमती, एक छोरा र चार छोरी छन् । दिवंगत बोहराको पार्थिव शरीरको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जिल्ला समन्वय समिति कञ्चनपुरले जनाएको छ ।