– हरिसुन्दर छुकां
भक्तपुर । बिहानीको हल्का कुहिरो अझै उड्न नपाउँदै सुडालको बाेझीनी ड्याम सडकमा फरक दृश्य देखियो । उमेरले ज्येष्ठ, तर हिँडाइँले अझै युवाजस्तै उत्साही स्थानीय किसानहरू एक हातमा रातो झण्डा र अर्को हातमा कुटो–कोदालो बोकेर सडक किनारातिर लागे । उनीहरूको पाइला कुनै जुलुसको लागि थिएन । त्यो पाइला थियो श्रम, सङ्घर्ष र जिम्मेवारीको पदचाप ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा नेपाल क्रान्तिकारी किसान सङ्घको अगुवाइमा सुरु भएको यो सरसफाइ अभियान झाडी फाँड्ने काम मात्र थिएन । सडक दायाँ–बायाँ उम्रिएका झार, अवरुद्ध नाली र साँघुरिँदै गएको बाटोले जोखिम बढाउँदै लगेपछि किसानहरू आफैँ समाधान खोज्दै मैदानमा उत्रिएका हुन् ।
कलमसीबाट बोझिनी जाने करिब दुई किलोमिटर लामो सडकखण्ड उनीहरूको श्रमको केन्द्र बनाएका थिए । कसैले बञ्चरो चलायो, कसैले हँसिया, कसैले बेल्चाले नाली उधिन्यो । पसिनाले भिजेका निधारमा थकानभन्दा बढी आनन्दी र गर्व झल्किन्थ्यो । किनकि उनीहरू सडक फराकिलो बनाउँदै मात्र थिएनन्, सम्भावित दुर्घटनाको जोखिम पनि घटाउँदै थिए ।
यस अभियानको नेतृत्व गरेका नेक्राकिसङ्घ सुडालका अध्यक्ष दिलबहादुर रायका लागि यो गतिविधि नयाँ थिएन । उनका अनुसार राजनीतिक सङ्घर्ष सामाजिक कर्मविनाको हुँदैन । `राजनीति नारामा मात्र सीमित भए अर्थ रहँदैन,´उनी भन्छन्, `समाजका दैनिक समस्या समाधानमा हात हाल्नु नै सही राजनीतिक अभ्यास हो ।´ उनले अन्य दल आवद्ध व्यक्तिहरूले गरे पनि नगरे पनि आफूहरूले समाजकाे लागि काम गरेकाे बताए ।
स्थानीय केशव खतिवडाले भने स्थानीय तह र सम्बन्धित सडक विभागको बेवास्ताले आफूहरू आफैँ अघि सर्न बाध्य भएको बताए । `झाडीले सडक साँघुरिँदै गएको थियो, सवारी दुर्घटनाको डर थियो,´ उनले भने, `कुनै आदेश कुर्नुभन्दा किसान सङ्घले नेतृत्व गर्यो, हामी जुट्यौँ ।´
स्थानीय तीर्थबहादुर रायका अनुसार किसानहरूको दायित्व खेतबारीमै सीमित हुँदैन । `खेती किसानीले समाज बाँच्छ, तर सामाजिक चेतनाले समाज अघि बढ्छ,´ उनी भन्छन् । सुडालका किसानहरूका लागि सरसफाइ अभियान श्रमदान मात्र होइन, सामूहिक उत्तरदायित्वको अभ्यास पनि बनेको उनकाे भनाइ छ ।
किसानहरूले यसअघि सुडालका विभिन्न सडक छेउमा सरसफाइ गरिसकेको र आगामी दिनमा अन्य सडक तथा सार्वजनिक स्थानमा सरसफाइ गर्ने याेजना बनाएका छन् । अभियान स्थलमै पुगेका नेमकिपा चाँगुनारायण नगरपालिकाका अध्यक्ष न्हुच्छेभक्त फोजुले किसान सङ्घको पहललाई उदाहरणीय बताए । `राज्यले गर्नुपर्ने काम जनताले गर्नुपरेको अवस्था दु: खद भए पनि, यो काम र प्रयास प्रशंसनीय छ,´उनले भने ।
नेमकिपा सुडालका सन्तराम दुलालले किसान कार्यकर्ताकाे काम उदाहरणीय भएको प्रतिक्रिया दिँदै उक्त जनश्रमदानलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।
सुडालकाे सडक र स्थानमा एक हातमा झण्डा, अर्को हातमा औजारकाे यो दृश्यले सुडालमा परिवर्तन भाषणले मात्र नभई श्रमले सम्भव हुन्छ भन्ने देखाएको स्थानीयकाे प्रतिक्रिया छ ।














