वडा अध्यक्ष खड्काद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै `हातपात´

0

भक्तपुर । चाँगुनारायण नगरपालिकाका एक वडा अध्यक्षले नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात गरेको घटना सार्वजनिक भएको छ ।

बालुवा तथा माटो उत्खननसम्बन्धी विषयलाई लिएर भएको विवादका क्रममा चाँगुनारायण नगरपालिका ५ छालिङका वडा अध्यक्ष जयन्द्र खड्काले प्रमुख प्रशासकीय अधिकृत माेहनकृष्ण श्रेष्ठमाथि ` हातपात ´ गरेको बताइएको छ । घटना आज दिउँसो करिब ३ बजे नगरपालिका कार्यालयभित्रै घटेको हो ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले चाँगुपत्र साप्ताहिकसँग भने, ५ नम्बरका वडा अध्यक्षज्यूले ममाथि हातपात गर्नुभयाे ।´ उनले आफू कार्यकक्षमै रहेको बेला वडा अध्यक्ष खड्काले आफूमाथि हातपात र दुर्व्यवहार भएकाे बताए । बालुवा र माटाे उत्खननकाे विषयमा कुरा चल्दा हातपात भयाे । बालुवा/माटाे उत्खनन गर्न नियमानुसार आईई गर्नुपर्छ भनेँ । उहाँले अरूलाई नपर्ने, मलाई मात्र पर्ने? भने´, उनले भने । त्यसलगत्तै आफूमाथि हातपात भएकाे उनकाे भनाइ छ । हातपात लगत्तै प्रशासकीय अधिकृतले कार्यकक्ष छाडेका छन् ।

स्रोतका अनुसार माटाे उत्खनन कार्य रोकिएको विषयमा भएको छलफल चर्किएपछि विवादले उग्र रूप लिँदै हातपातको अवस्था सिर्जना भएको थियो । घटनापछि कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

उक्त विषयमा वडा अध्यक्ष जयन्द्र खड्कासँग बुझ्न खाेज्दा उनले फाेन रिसिभ गरेका छैनन् । *

नगरपालिकाका सूचना अधिकारी अनुप लामिछानेले प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा भनाभन भएकाे जानकारी पाएकाे बताए ।

नगरपालिकाले केही दिनअघिमात्र बालुवा/माटाे उत्खननसम्बन्धि सूचना प्रकाशित गरेको थियाे ।

    • समाचार प्रकाशन भएसँगै वडा अध्यक्ष खड्काले आफ्नो ध्यानाकर्षण भएको बताए । उनले फाेन गरि प्रमुख प्ररशासकीय अधिकृत श्रेष्ठले भनेजस्तै गरि हातपात नभएको बताए । उनले कार्यकक्षमा केही भनाभनमात्र भएको बताए । उनले नगरपालिकामा भइरहेका अनेकौं बेथितिबारे प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठकाे ध्यानाकर्षण गराएको विषयमा भएको भनाभनलाई हातपात भएको भनी आराेप लगाएको बताए ।
    • उनले घटनाको विषयमा कार्यकक्षमा रहेको सिसिक्यामेराले स्पष्ट पार्ने बताए ।
    • वडा अध्यक्ष खड्काले माटाे बालुवा खानीका साथै उपभोक्ता समितिले पाउनुपर्ने भुक्तानी दिन प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आनाकानी गरिरहेकाे जनाए । उनले आफू विधायन समितिकाे संयाेजक भएर पनि नीति र विधिबारे आफूलाई जानकारी नदिइएको बताउँदै साे विषयमा भएकाे विवादकाे जवाफ दिन नसकेे प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ कार्यकक्षबाट बाहरिएकाे जनाए ।
    • उनले हातपात नभएको दाेहाेर्याउँदै समाचार डिलेट गर्न र सच्याउन भने ।