भक्तपुर। भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ वार्षिक साधारण सभा तथा महिला उद्यमी समितिको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री बिन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि मन्त्री श्रेष्ठले लघु, घरेलु तथा साना उद्योग देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको उत्थानका लागि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले प्रविधिमैत्री वर्तमान समयमा ई–कमर्स, घरेलु उत्पादन मेला, कोशेली घरजस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै भक्तपुरमा पनि व्यवस्थित कोशेली घर स्थापना गर्न आगामी बजेटमा व्यवस्था गरिने बताउनुभयो।
साथै बागमती प्रदेशको पहिचान हस्तकला भएकाले निकट भविष्यमा ‘हस्तकला दिवस’ मनाउने विषयमा छलफल भइरहेको जानकारी गराउँदै उद्योग सञ्चालनका क्रममा देखिएका नीतिगत समस्याहरू जिल्ला स्थित उद्योग तथा वाणिज्य कार्यालयमार्फत मन्त्रालयमा पेश गर्न अनुरोध गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तु खरिद निर्देशिका जारी भइसके पनि सरकारले स्वयं त्यसको पालना नगर्दा साना उद्यमीहरू झनै ओझेलमा परेको गुनासो गर्नुभयो। कोरोना महामारीका बेला ठूला उद्योगहरू बन्द हुँदा पनि घरेलु तथा साना उद्योगले अर्थतन्त्र धानेको स्मरण गराउँदै यस्ता उद्योगप्रति राज्यले अझै पर्याप्त ध्यान नदिएकोप्रति दुःख व्यक्त गर्नुभयो।
त्यसैगरी अर्का अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष तथा संघका पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले औद्योगिक निगम विकास प्रतिष्ठानमार्फत बिना धितो ५ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समितिमा महासंघको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो। उहाँले उक्त कर्जाका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघमार्फत तोकिएको समयमा निवेदन पेश गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो।
गो लोकल अभियानका संयोजक वीरेन्द्र जति ले भक्तपुरका उत्पादनलाई पर्यटकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभयो। भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले विगत सात वर्षको प्रयासबाट भक्तपुरका १५ वटा उत्पादनलाई ‘रैथाने उत्पादन’ का रूपमा सूचीकृत गरी प्रवर्द्धन गरिरहेको बताउनुभयो।
संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजाले संघ स्थापना कालदेखि हालसम्म नियमित रूपमा साधारण सभा गर्दै उद्यमीहरूको हकहित तथा संरक्षणका लागि निरन्तर काम गर्दै आएको र उद्यमीहरूको नीतिगत समस्यालाई सम्बन्धित सरकारी निकायसम्म पुर्याउन पहल गर्दै आएको बताउनुभयो।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयबाट उपलब्ध गराइँदै आएका सेवा–सुविधाबारे जानकारी गराउँदै सीपमूलक तालिम, गोष्ठी, मेला तथा अन्तरक्रियाहरू संघ–संस्थासँगको समन्वयमा सञ्चालन भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष तथा संघका पूर्व अध्यक्ष सत्यनारायण प्रजापति, महासंघकी केन्द्रीय महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष रीता अवाल, भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण ग्वाछा, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर साना तथा मझौला व्यवसायी संघका अध्यक्ष वीरेन्द्र माक, संघकी सचिव श्रीजना कक्षपति तथा महिला उद्यमी समितिकी अध्यक्ष कमलश्वरी खर्बुजाले देश विकासमा घरेलु उद्योगको योगदानबारे धारणा राख्नुभएको थियो।
कार्यक्रममा लामो समयदेखि स्थानीय सीप, स्रोत र साधनको उपयोग गर्दै उद्योग व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीहरूमध्ये न्यू जगाती राइस मिलका प्रोप्राइटर महेन्द्रमान श्रेष्ठ र हेल्पिङ ह्यान्ड फेल्ट क्राफ्टका प्रोप्राइटर राजु भडेललाई ‘वर्षको उत्कृष्ट घरेलु उद्यमी सम्मान–२०८२’ बाट सम्मानित गरिएको थियो।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथि, विशेष अतिथि तथा विभिन्न संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूलाई संघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।















