प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक

0

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ।

निर्वाचन प्रक्रिया स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै आयोगले मस्यौदा सार्वजनिक गरेको हो।

आयोगका अनुसार आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समावेश गरिएको छ। नयाँ आचारसंहिता जारी भएसँगै यसअघि लागू रहेको निर्वाचन आचारसंहिता–२०७९ खारेज गरिएको छ।

मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न सकिने, अनुगमन तथा कारबाहीका लागि विद्युतीय माध्यम तथा सूचना प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने प्रावधानसमेत समावेश गरिएको छ।

निर्वाचन आयोगले मस्यौदामाथि सरोकारवालाबाट प्राप्त हुने सुझावलाई समेटी अन्तिम आचारसंहिता जारी गरिने जनाएको छ।