सुलीकोट । गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। अब पालिकाभित्रका प्रमुख पर्यटकीय गन्तव्यहरू घोडा चढेर अवलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई फरक र रोमाञ्चक अनुभव प्रदान हुने अपेक्षा गरिएको छ।
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार भच्चेक बजारदेखि अजिरकोट डाँडा, नम्की, सिरानडाँडा, नागेपोखरी, दुधपोखरीलगायतका आकर्षक गन्तव्यसम्म घोडा सवारीको व्यवस्था गरिनेछ।
“गाउँपालिकाको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै नयाँ–नयाँ कार्यक्रम अघि सारिरहेका छौँ,” अध्यक्ष देवकोटाले भन्नुभयो, “पालिकामा आउने पर्यटकलाई लक्षित गरी सेवा र सुविधा विस्तार गर्ने योजनाअन्तर्गत घोडा सवारी कार्यक्रम ल्याइएको हो।”
पालिकाले कार्यक्रम सञ्चालनका लागि साझेदारीमा जान इच्छुक व्यवसायी, समूह तथा संस्थाबाट आवेदन आह्वान गरिसकेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीका अनुसार १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिएका इच्छुक पक्षसँग छलफल गरी दिगो मोडालिटी तयार पारेर चालु आर्थिक वर्षबाट कार्यक्रम लागू गरिनेछ।
कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले आवश्यक कार्यविधि तयार गरिसकेको छ भने व्यवसायी छनोटका लागि प्रमुख प्रशासकीय अधिकृत पन्थीको संयोजकत्वमा समिति गठन गरिएको छ। कार्यविधिअनुसार छनोट भएका व्यवसायीलाई घोडा खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै घोडा सवारीसँगै पर्यटकीय स्थलसम्म पुग्ने घोरेटो बाटो स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माण का कामसमेत अघि बढाइने जनाइएको छ।
कार्यक्रम कार्यान्वयनमा आएपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै अजिरकोटको पर्यटन गतिविधि थप सक्रिय र व्यवस्थित हुने विश्वास गाउँपालिकाले लिएको छ।















