बलेफी। बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ भाँगेचौरमा निर्माण सम्पन्न भएको दक्षिण एसियाकै पहिलो र्याफ्टीङ स्कुलको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिने तयारी गरेको छ। संघीय सरकारको लगानीमा निर्माण भएको उक्त पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालन गरी प्रदेशस्तरमै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदेश सरकार अग्रसर भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको बजेटबाट करिब १२ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको स्कुलको सञ्चालनका विषयमा समन्वय तथा सहकार्यको खाका तय गर्न आज बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको नेतृत्वमा स्थलगत अनुगमन गरिएको छ।
अनुगमन टोलीमा प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, प्रदेश सांसद अमृता नेपाल, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेल, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा तामाङलगायत सहभागी थिए। टोलीले स्कुलको भौतिक अवस्था, पूर्वाधार, सुरक्षा व्यवस्था तथा सञ्चालन मोडेलका विषयमा जानकारी लिँदै स्थानीय सरोकारवालासँग छलफल गरेको थियो।
स्थानीय तहका जनप्रतिनिधि र स्थानीय समुदायको अनुरोधलाई मध्यनजर गर्दै प्रदेश सरकारले र्याफ्टीङ स्कुललाई प्रदेशस्तरीय तालिम तथा साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने नीति लिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव सुवेदीका अनुसार प्रदेश सरकारको मातहतमा व्यवस्थापन समिति गठन गरी छिट्टै सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।
प्रदेश सरकारका अनुसार स्कुल सञ्चालनमा आएपछि नदी–आधारित साहसिक पर्यटनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन, सुरक्षा मापदण्डको संस्थागत कार्यान्वयन तथा निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन व्यवसायलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
र्याफ्टीङ स्कुलमा आवासीय प्रयोजनका लागि ११ वटा पक्की कोठा, चार वटा कक्षा कोठा निर्माण गरिएको छ भने एक पटकमा करिब १२० जना प्रशिक्षार्थीलाई तालिम दिन सक्ने क्षमता रहेको छ। सिन्धु पर्यटन व्यवसायी संघका अनुसार स्कुल आगामी फागुन महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रदेश सरकारले बलेफी र नजिकैको सुकुटे क्षेत्रलाई साहसिक पर्यटनको क्लस्टरका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ। काठमाडौँबाट करिब ७० किलोमिटर दूरीमा रहेको सुकुटे भोटेकोशी नदी किनारमा अवस्थित प्रमुख र्याफ्टीङ गन्तव्य हो, जहाँ सहज पहुँच, प्राकृतिक सौन्दर्य र तीव्र बहावको नदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ।
प्रदेश सरकारको दृष्टिमा योजनाबद्ध लगानी, तालिमप्राप्त जनशक्ति, सुरक्षित सञ्चालन र सरकारी–निजी–स्थानीय तहबीचको सहकार्यमार्फत सुकुटे क्षेत्रलाई नेपालकै मात्र होइन, दक्षिण एसियाकै अग्रणी साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना रहेको छ।
र्याफ्टीङ स्कुल सञ्चालनसँगै प्रदेश सरकारले स्थानीय युवालाई रोजगारी सिर्जना, पर्यटनजन्य आर्थिक गतिविधि विस्तार तथा बागमती प्रदेशलाई साहसिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरेको छ।















