भक्तपुर । प्रतिदिन हजारौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने नगरकोटको ऐतिहासिक टावर अहिले गम्भीर जोखिममा परेको भन्दै मर्मतसम्भारका मुद्दामा जिम्मेवार कसको भन्ने प्रश्न तीव्र बनेको छ।
वरपरको मनमोहक दृश्य, हिमशृङ्खलाको अद्भुत दर्शन र ‘स्वर्गको अनुभूति’ खोज्दै आउने पर्यटकहरू टावरको जीर्ण अवस्थादेखि आसपासको अव्यवस्था र फोहोरले निराश बन्दै आएको स्थानीयवासीहरूको आरोप छ।
नगरकोट टावर लामो समयदेखि जीर्ण अवस्थामा रहेर जोखिमपूर्ण भएको, टावर वरिपरि फोहोर–फाराम चुलिँदै गएको र सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो निरन्तर बढिरहेको छ। टावर हेरेपछि पर्यटकले वडा, नगरपालिकादेखि सरकारसम्मलाई कठोर आलोचना गर्ने अवस्था सिर्जना भएको छ।
यही विषयलाई लिएर चाँगुनारायण नगरपालिका–६ का वडा अध्यक्ष धनबहादुर लामाले सामाजिक सञ्जालमार्फत टावरको संवेदनशीलता, यसको वास्तविक उद्देश्य र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार नगरकोट टावर पर्यटनका लागि चढ्ने उद्देश्यले बनाइएको संरचना होइन, तर नापी विभागले नेपालभर जग्गा सिमाङ्कन तथा नापजाँच गर्ने क्रममा प्रथम बिन्दुको आधार मानिएको अत्यन्त महत्वपूर्ण स्थान हो। यहाँ थुप्रै स–साना प्राविधिक बिन्दु (प्वाइन्ट) रहेका कारण कुनै पनि निर्माण, मर्मत अथवा संरचनागत काम गर्न नापी विभागको अनुमति आवश्यक हुन्छ।
वडा अध्यक्ष लामाले लेखेका छन्, “यो टावर अत्यन्तै संवेदनशील छ। नापी विभागको प्राविधिक कारणले बिना स्वीकृति यहाँ कुनै कार्य गर्न सकिँदैन। तर हामीले सम्बन्धित निकायसँग पटक–पटक मर्मतसम्भारका लागि अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन।”
उनका अनुसार, यदि आवश्यक स्वीकृति वा मर्मतको जिम्मा चाँंगुनारायण नगरपालिका–६ लाई दिने हो भने वडा टावर संरक्षणका लागि सदैव तत्पर रहनेछ। नगरकोट टावरको जिम्मेवारी चाँगुनारायण नगरपालिका, बनेपा नगरपालिका, नापी विभाग, होटल व्यवसायी वा स्थानीय समुदायमध्ये कसले लिने भन्ने प्रश्न स्थानीयस्तरमै मात्र होइन, अब सार्वजनिक चासोको विषय बनेको छ। जोखिम बढ्दो अवस्थमा रहेकाले तत्काल पहल गर्नुपर्ने वाज स्थानीय, पर्यटक तथा जनप्रतिनिधिबाट उठिरहेको छ।














