हेटौंडा। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखाको शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न गरेका दुई महत्वपूर्ण संरचना—शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज—औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
शैलुङ्ग गाउँपालिका–१ मा रहेको गोलघर तथा वडा–८ मा स्थित कम्युनिटी लज विभिन्न आर्थिक वर्षका बजेटबाट निर्माण सम्पन्न गरिएका पर्यटन पूर्वाधार हुन्। यी संरचनाहरू पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि–२०८१ बमोजिम मङ्सिर २ गते गाउँपालिकालाई संरक्षण, सञ्चालन तथा व्यवस्थापनका लागि हस्तान्तरण गरिएको हो।
“हस्तान्तरणपछि संरचना सुरक्षित रहन्छ, प्रतिफल पनि स्थानीयले पाउँछन्” — मन्त्री श्रेष्ठ
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठका अनुसार निर्माण सम्पन्न संरचनाहरू लामो समयसम्म थन्किँदा भौतिक क्षति, तोडफोड तथा लगानीको प्रतिफल नआउने समस्या देखिएकोले मन्त्री पदभार सम्हालेपछि नै ती संरचनाहरू तत्काल हस्तान्तरण गर्ने निर्णय लिएको बताउनुभयो।
“हामीले बनाएका संरचनाहरू समयमै स्थानीयलाई नदिँदा बिग्रन थालेका थिए। त्यसैले पहिलो दिनदेखि नै स्थलगत अनुगमन गर्दै हस्तान्तरणलाई प्राथमिकता दियौं,” मन्त्री श्रेष्ठले भन्नुभयो।
शैलुङ्गपछि ककनी र चिम्टेश्वरमा बनेका संरचना पनि हस्तान्तरण हुँदै
मन्त्री श्रेष्ठले पहिलो चरणमा शैलुङ्ग गाउँपालिकाका संरचना हस्तान्तरण भएपछि आगामी मङ्सिर ७ गते नुवाकोटको ककनीमा बनेको भ्यूटावर र मल्टीप्रपोज हल हस्तान्तरण हुने जानकारी दिनुभयो। साथै नुवाकोटकै चिम्टेश्वरमा निर्मित भ्यूटावर पनि छिट्टै हस्तान्तरण प्रक्रिया अघि बढाइनेछ।
उहाँका अनुसार, “मन्त्रालयबाट निर्माण भएका सबै संरचनाहरू क्रमशः स्थानीय निकाय वा सरोकारवालालाई हस्तान्तरण गर्दै जाने लक्ष्य छ।”
संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीले विगतका वर्षमा बनेका धेरै संरचना सञ्चालनमा नआएपछि प्रतिफल शून्य रहेको बताउँदै, यही अवस्थालाई अन्त्य गर्न हस्तान्तरण कार्यविधि २०८१ लागू गरिएको जानकारी दिनुभयो।
“हस्तान्तरणपछि मात्र संरचनाहरूले आफ्नो उद्देश्य पूरा गर्छन्। शैलुङ्गका संरचनाहरू त्यसैअनुसार हस्तान्तरण गरिएका हुन्,” सचिव सुवेदीले भन्नुभयो।
परियोजना प्रमुख रोशन श्रीवास्तवका अनुसार सन् २०७६ देखि बहुवर्षीय योजनाका रूपमा अघि बढाइएका परियोजनाहरूको भौतिक प्रगति र अवस्थाको मूल्याङ्कनपछि आवश्यकता अनुसार मर्मत गर्ने गरी हस्तान्तरण प्रक्रिया अघि बढाइएको हो।
“हस्तान्तरणले पालिका र प्रदेश दुवैको आम्दानी बढाउँछ” — गाउँपालिका प्रमुख
शैलुङ्ग गाउँपालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठले लामो समयदेखि माग गर्दै आएको संरचना हस्तान्तरण पूरा भएपछि पर्यटन प्रवर्द्धन तथा आम्दानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
“हामीले पटक–पटक माग गर्दा पनि प्रक्रिया अघि बढेको थिएन। मन्त्री सुरेश श्रेष्ठ आएपछि छिट्टै हस्तान्तरण भएकोमा अत्यन्त खुशी छौं,” अध्यक्ष श्रेष्ठले बताउनुभयो।
३०–७० को आम्दानी साझेदारी
हस्तान्तरण कार्यविधिअनुसार गोलघर र कम्युनिटी लज सञ्चालनबाट हुने कुल आम्दानीमध्ये ३० प्रतिशत प्रदेश सरकार र ७० प्रतिशत शैलुङ्ग गाउँपालिकाले प्राप्त गर्ने व्यवस्था गरिएको छ।
हस्तान्तरण कार्यक्रममा प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सचिव दीपेन्द्र सुवेदी, आयोजना प्रमुख रोशन श्रीवास्तव, गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ, कार्यकारी अधिकृत सन्जिब न्यौपाने तथा वडा नम्बर १ का अध्यक्ष वीर बहादुर घतानीलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।














