बज्रयोगिनी माई मन्दिर अधुरो हुन दिदैंनौं, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ 

3

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बज्रयोगिनी माई मन्दिरको शिलान्यास भएको छ । मन्दिरको शिलान्यास बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र बागमती प्रदेशका पूर्व मन्त्री लक्ष्मण लम्सालले संयुक्त रूपमा गर्नुभएको हो ।

मन्दिर शिलान्यास कार्यक्रममा मन्त्री श्रेष्ठले आफ्नो कला संस्कृति एवं परम्परा जोगाउने दायित्व समाजको आफ्नो भएको बताउँदै यसका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभएको थियो । उहाँले प्रदेशले गरेका कामको विषयमा जनमानसमा जानकारी नपुग्दा नेपालमा सङ्घीयता माथि नै खतरा समेत परेको बताउनुभएको थियो ।

उहाँले मन्दिरलाई कलात्मक बनाउने नाममा जथाभाबी रूपमा मार्बल र सिमेन्टको प्रयोग नगर्न समेत आग्रह गर्दै हामीले बनाएको धरोहरहरू भोलीका पुस्ताका लागि प्रेरणा तथा सम्पत्ति हुने भएका कारण मन्दिरहरू हाम्रा पुर्खाले बनाए जस्तै कलात्मक बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै उहाँले यस मन्दिरलाई सम्पन्न गराउन आफूले सकेको सम्पूर्ण सहयोग गर्न तत्पर रहेको समेत बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री लक्ष्मण लम्सालले प्रदेशले गरेका कामको विषयमा प्रचार प्रसारका अभावका कारण जनतामाझ प्रदेशको विषयमा नकारात्मक छवि बनेको बताउनुभएको थियो । उहाँले हाम्रा कला तथा धरोहरहरू हामीले बनाउनु पर्ने बताउँदै निर्माण सँग सँगै यसको संरक्षणमा पनि हामीले जोड दिनु पर्ने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवाले मन्दिर निर्माणमा प्रदेश स्थानीय र स्थानीय सरकार सबै मिलेर लाग्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस काभ्रे जिल्ला सचिव एवं समाजसेवी माधव ढकालले मन्दिरसँगै वृद्ध वृद्धा बस्ने भजन गाउने तथा आफ्ना दुःख सुखका कुरा साटासाट गर्ने जेष्ठनागरिक मिलन चौतारीहरूको आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले अबको पुस्ता गाउँमा बस्न नरुचाउने ज्येष्ठ नागरिकका लागि मन भुलाउने तथा आफ्नो दुःख सुख साटासाट गर्ने चौतारीहरूको निर्माणमा समेत हामीले ध्यान दिनुपर्ने उहाँले बताउनुभएको थियो ।

संस्कृति संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा सरकारको निरन्तरको प्रयासका बिच सम्पन्न यो शिलान्यासले स्थानीय स्तरमा धार्मिक पर्यटकीय विकासलाई थप प्रवाह गर्ने अपेक्षा गरिएको छ।

स्थानीयले सप्ताह लगाएर उठाएको पैसा र प्रदेश सरकारबाट विनियोजित बजेटबाट उक्त मन्दिरको निर्माण हुन लागेको मन्दिर निर्माण समितिले जानकारी दिएको छ ।

स्थानीय नेता, सरोकारवाला र भक्तजनको उल्लेखनीय उपस्थितिले कार्यक्रममा उत्साहपूर्ण वातावरण सिर्जना भएको थियो।