पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिता सुरु

4

कास्की — पोखरा महानगरपालिका वडा नम्बर १३, आर्बा–विजय डाँडामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ देशका ४५ खेलाडीहरू सहभागी छन्।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभयो। उहाँले पोखरा अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टका कारण साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।

प्रतियोगितामा जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपालका खेलाडीहरू सहभागी छन्।
ड्रागन बोट रेस, क्रस–कन्ट्रीलगायतका अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखरामा खेलकुदको विकाससँगै पर्यटन प्रवर्द्धनमा सघाएको प्रमुख आचार्यको भनाइ छ।

“विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न रुचाउने गरेका छन्,” उहाँले भन्नुभयो।

प्रतियोगिताका रेस निर्देशक सुनीलचन्द्र शर्माका अनुसार हालको जेनजी आन्दोलनका कारण यसपटक सोचेभन्दा केही कम खेलाडी सहभागी भएका छन्। पोखरा वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले पोखरा इन्डुरो रेस यहाँको पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बताउनुभयो।

प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथि), इलिट (२९ वर्ष माथि), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरी छ विधामा प्रतिस्पर्धा हुनेछ।

आर्बा–विजय डाँडामा आयोजक संस्था डन टिल डस्कले सन् २०२० देखि नै आवश्यक संरचना निर्माण गर्दै आएको छ।