इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु, अझै केही बेपत्ता

3

विराटनगर। अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

इलामका विभिन्न स्थानमा हिजो रातीबाट पहिरो खसेको छ । पहिरोका कारण इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुस्नेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको उद्दारकोलागि नेपाली सेनाको टोली घटनास्थल तर्फ गएको मौसमको खराबीका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।

उनीहरूको उद्धारका लागि हेलिकप्टर ल्याउने तयारी भएको भए पनि खराब मौसमका कारण हेलिकप्टर आउन सकेको छैन ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हेलिकप्टर आए पनि खराब मौसमका कारण घटना स्थलमा हेलिकप्टर ल्याण्ड हुन नसकेको बताइन् । उनले याङ्शिला भन्ने स्थानमा हेलिकप्टर ल्याण्ड भएको जानकारी दिइन् । उनले मृतक र बेपत्ताको संख्या बढ्न सक्ने बताइन् ।