पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्न नपाउने व्यवस्था संविधानमै गर्नुपर्छ कांग्रेस सहमहामन्त्री जीवन परियार

4

भक्तपुर ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपतिहरूलाई सक्रिय राजनीतिमा फर्किन नपाउने व्यवस्था संविधानमै सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। सूर्यविनायक नगरसमितिद्वारा आयोजित तेस्रो नगरपालिका सम्मेलनको उद्घाटन गर्दै उहाँले संविधान संशोधनमार्फत यस्तो प्रावधान समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

“संविधान निर्माण गर्दा यो विषय समेट्न नसकिएको कमजोरी थियो,” उहाँले भन्नुभयो, “अब कांग्रेस-एमाले गठबन्धनको सहमतिअनुसार संविधान संशोधन हुने अवस्थामा यो व्यवस्था समावेश गरिनुपर्छ।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनबारे टिप्पणी गर्दै परियारले एमालेले गरेको निषेधात्मक निर्णयको स्वागत गर्दै कांग्रेसले पनि त्यस्तै निर्णय लिनुपर्नेमा जोड दिनुभयो। “पूर्वराष्ट्रपति राजनीति फर्कनु उपयुक्त होइन,” उहाँले स्पष्ट पार्नुभयो।

त्यसैगरी, उहाँले नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८३ मंसिरमा आयोजना गर्नु उपयुक्त हुने बताउनुभयो। वर्तमान नेतृत्वको कार्यकाल २०८२ मंसिरमा सकिने भए तापनि तयारी अभावका कारण म्याद एक वर्ष थप्न सकिने संवैधानिक व्यवस्था रहेको उहाँले स्मरण गराउनुभयो। “२०८४ वैशाखमा हुने स्थानीय चुनावका लागि तयारी गर्न २०८३ मंसिरमा महाधिवेशन गर्नुपर्ने आवश्यकता छ,” उहाँले तर्क गर्नुभयो।

रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानलाई उहाँले “अवैधानिक र अराजनैतिक गतिविधि”को संज्ञा दिँदै आलोचना गर्नुभयो। अदालतको आदेशमा थुनामा रहेका व्यक्तिको पक्षमा यस्तो अभियान अस्वीकार्य भएको उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पार्टीभित्र गुनासोभन्दा बढी आत्मसमीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। “कसले के गरेन भन्नुभन्दा पहिला आफूले के गरिरहेछु भन्ने सोचौं,” उहाँले कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो।

सूर्यविनायक नगरसमितिका सभापति निशान ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्व सभापतिहरू गणेशमान चक्रधर, महेश श्रेष्ठ, क्षेत्रीय सभापति भेषबहादुर कार्की, जीवन खत्री, प्रदेश सभा क्षेत्र नं. २(क)का सभापति प्रदीप कार्की, नगर सभापति राजेन्द्र तमाखू, पूर्वमन्त्री कृष्णलाल भँडेललगायत नेताहरूले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो।

ढुंगेलका अनुसार नगर समितिका १० वटा वडाका पदाधिकारी, क्षेत्रीय प्रतिनिधिहरू, भातृ संघ–संस्था तथा शुभेच्छुक प्रतिनिधिहरू गरी करिब २५० जनाको सहभागिता सम्मेलनमा रहेको थियो। सम्मेलनको बन्द सत्रमा सचिवीय प्रतिवेदन र कोषाध्यक्षको आर्थिक विवरणमाथि छलफल हुनेछ भने सहभागीहरूलाई पाँच समूहमा विभाजन गरी भावी रणनीतिबारे गहन छलफल गरिने जानकारी गराइएको छ।