भक्तपुरमा एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको जोखिम उच्च

3

भक्तपुर – भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांकअनुसार भक्तपुरका युवामा लागूपदार्थ प्रयोग र एचआईभी संक्रमणको जोखिम तीव्र रूपमा बढिरहेको छ।

केन्द्रको तथ्यांकअनुसार कलेज जानेसम्मको उमेरका प्रत्येक १० युवामध्ये २ जना लागूपदार्थ दुर्व्यसनमा फसेका छन्। यसमा गाँजादेखि सुईमार्फत लागूपदार्थ प्रयोग गर्नेहरूसम्मको समावेश छ। भक्तपुरमा करिब १ हजार ३१२ देखि १ हजार ५३७ जनासम्म सुईमार्फत लागूपदार्थ प्रयोग गर्ने अनुमान गरिएको छ। तीमध्ये १ हजार १६५ देखि १ हजार ३८२ जना पुरुष र १४७ देखि १५५ जना महिला छन्।

यसरी एउटै सुईबाट धेरैले प्रयोग गर्ने प्रवृत्तिका कारण एचआईभी संक्रमणको जोखिम अझ बढेको बताउँदै एचआईभी/लागूपदार्थ क्षेत्रमै क्रियाशील संस्था ‘सुरुवात’का कार्यकारी निर्देशक राजेश दिदियाले युवामा संक्रमणको दर बढ्दो अवस्थामा रहेको बताए। “यदि सुरक्षित अभ्यास अपनाइएन भने संक्रमणको सम्भावना १०० प्रतिशत हुन्छ,” उनले भने।

त्यस्तै, केन्द्रको तथ्यांकअनुसार भक्तपुरमा महिला, पुरुष र तेस्रोलिङ्गी यौनकर्मीसमेत उच्च जोखिममा छन्। भक्तपुरमा ४ हजार ८१८ देखि ५ हजार ४३४ महिला यौनकर्मी, ४२६ देखि ५०० पुरुष यौनकर्मी, र २६१ देखि ३२५ तेस्रोलिङ्गी यौनकर्मी रहेको अनुमान छ। साथै, पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषको संख्या पनि ६३८ देखि ७०४ को हाराहारीमा छ।

संक्रमित तर अज्ञातको संख्या उच्च

भक्तपुरमा एचआईभी संक्रमणको जोखिम उच्च रहे पनि यथार्थ संक्रमितको संख्या अझै अज्ञात छ। भक्तपुर अस्पतालस्थित एआरटी केन्द्रमा हालसम्म १५३ जना संक्रमित मात्र दर्ता छन्, जसमा १०० पुरुष, ४५ महिला, ४ तेस्रोलिङ्गी र ४ बालबालिका छन्।

“धेरै संक्रमितहरू पहिचान खुल्ने डरले भक्तपुरको एआरटी सेन्टर नआइ काठमाडौं, ललितपुर वा काभ्रेको सेवा प्रयोग गर्छन्,” काउन्सिलर सृष्टि अर्याल बताउँछिन्।

कार्यक्रम टुट्दै, जोखिम बढ्दै

जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले संघीयता पछि स्वास्थ्यको जिम्मा स्थानीय तहमा पुगेको भए पनि समन्वय र स्रोत अभावले एचआईभी तथा लागूपदार्थ सम्बन्धी कार्यक्रमहरू टुटेका कारण जोखिम बढेको बताइन्।

यही कारण हालै संस्था ‘सुरुवात’ले जिल्लास्तरीय समन्वय बैठक आयोजना गर्‍यो। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले स्वास्थ्यमा प्राथमिकतासाथ बजेट विनियोजन गर्न स्थानीय तहहरूलाई आह्वान गर्‍यो। “विकास निर्माणजत्तिकै ध्यान स्वास्थ्यमा दिनुपर्ने बेला आएको छ,” थापाले भने।

सामाजिक भेदभाव पनि चुनौती

संक्रमितहरू अझै पनि सामाजिक भेदभाव र लाञ्छनाको डरले सेवा लिन हिच्किचाइरहेका छन्। यही कारण यथार्थ संक्रमित संख्या बाहिर नआएको बताइएको छ।

यसैबीच, ‘साट्क्टस्’ संस्थाका प्रतिनिधि रोशन सुवालले आफ्ना संस्थासँग २ हजार ९८३ महिला यौनकर्मी र ५ हजार ३३९ पुरुष ग्राहकहरू सम्पर्कमा रहेको जानकारी दिए। “भक्तपुर काठमाडौं छिर्ने र निस्कने मुख्य ट्रान्जिट बिन्दु भएकाले यो संख्या अझै धेरै हुन सक्छ,” उनले भने।

विशेषज्ञहरूका अनुसार एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसन रोक्नका लागि प्रहरीको मात्र सक्रियता पर्याप्त छैन। विद्यालय-कलेजहरूमा लक्षित जनचेतना कार्यक्रम, समुदायमै आधारित हस्तक्षेप र समन्वित प्रयास आवश्यक छ।