सूर्यविनायक नगरपालिकामा किशोरी लक्षित एक दिने आत्मरक्षा तालिम सम्पन्न

5

भक्तपुर। किशोरीहरूमा आत्मबल, आत्मविश्वास र सुरक्षाबोध अभिवृद्धिका लागि सूर्यविनायक नगरपालिकाको पहलमा एक दिने आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ। तालिम कार्यक्रम महेन्द्र शान्ति माध्यमिक विद्यालय, बालकोटमा आयोजना गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि उपमेयर सरिता तिमिल्सिना भट्टराईले आत्मरक्षा अहिलेको आवश्यकता भएको बताउँदै भनिन्, “किशोरीहरू आत्मनिर्भर, निडर र सही मार्गमा अघि बढ्न आत्मबल आवश्यक छ। आत्मरक्षा तालिमले त्यो आत्मबल विकास गर्न मद्दत गर्नेछ।” उनले आगामी दिनमा किशोरहरूका लागि पनि अभिमुखीकरण र सुरक्षासम्बन्धी कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिइन्।

सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष प्रदीप कार्कीले आपराधिक घटनाहरू शिक्षित समाजमा पनि भइरहेका उल्लेख गर्दै, “एउटै घरका दाइबाट बहिनी असुरक्षित हुने अवस्थासमेत देखिएकाले किशोरीहरूको आत्मरक्षा अत्यावश्यक छ,” भनी तालिमको सान्दर्भिकता औँल्याए।विद्यालयका प्रधानाध्यापक गोपाल वि. थापाले तालिमको उद्देश्य र विद्यालयको सहकार्यबारे प्रकाश पारे।

तालिममा आत्मरक्षा प्रमुख प्रशिक्षक तथा सामाजिक अभियन्ता पद्मा खयरगोलीले महिला हिंसा, आत्मरक्षा आवश्यकताको पक्ष र सरकारी नीतिहरूका सीमाबारे चर्चा गर्दै, “कानुनी प्रक्रियाभन्दा पहिला महिलाहरू आफैं सचेत र सक्षम बन्नुपर्ने आवश्यकता छ,” बताइन्। प्रशिक्षक रविन्द्र श्रेष्ठले सहभागीहरूलाई प्रयोगात्मक र प्रविधिमूलक तालिम प्रदान गरे।

कार्यक्रम संयोजक शर्मिला दाहालका अनुसार सूर्यविनायक नगरपालिकाका विभिन्न पाँच विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालिम कार्यक्रम अन्तर्गत, कुलमाया भगवती माविमा ८५ जना, सिरुटार माविमा ८५ जना र महेन्द्र शान्ति माविमा ९० जना किशोरीहरू लाभान्वित भएका छन्।