भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा डेनिस रेडक्रसको सहयोगमा सञ्चालित Youth in Climate Entrepreneurship परियोजना अन्तर्गत आज नङ्खेल र नगरकोट उपशाखाबाट छनोट गरिएका २० जना स्वयंसेवकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा सहभागी स्वयंसेवकहरूलाई परियोजना अवधारणा, रेडक्रस अभियान, सामुदायिक संलग्नता तथा जवाफदेहिता (CEA), विपद् व्यवस्थापन र PGI (Protection, Gender and Inclusion) सम्बन्धी विषयमा जानकारी प्रदान गरियो।
उक्त अभिमुखीकरण कार्यक्रमले जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसँगै उद्यमशीलता विकासमा युवा स्वयंसेवकहरूको भूमिका सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने आयोजक संस्थाले विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा नेपाल रेडक्रसका प्राविधिक टोलीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए। सहभागीहरूले परियोजना र विषयवस्तुहरू बारे सक्रिय छलफल गर्दै आगामी दिनमा प्राप्त ज्ञान र सीपलाई समुदायस्तरमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।