ताथलीमा वृहत् साईकलिङ : प्रख्यात साईकलयात्रीदेखि विदेशीसम्मकाे सहभागिता 

4
० हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको ताथलीमा वृहत् साईकलिङ र हाईकिङ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेका विभिन्न सम्पदाहरूकाे प्रचारप्रसारमा सहयोग पुर्याउन ताथलीकाे श्री दक्षिणकाली युवा समूहको आयाेजनामा उक्त कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमकाे उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले गरेका थिए । चाँगुनारायण नगरपालिका वडा नं. ९ स्थित ब्रम्हायणी शक्तिपीठमा आयाेजित कार्यक्रममा उनले ताथलीका धार्मिक र सांस्कृतिक सम्पदा चिन्न र चिनाउन युवा समूहले गरेकाे कामकाे प्रशंसा गरेका थिए । उनले नगरपालिकामा रहेका सम्पदालाई विश्वस्तरमा पुर्याउनका लागि नगरकाेट भ्रमण वर्ष २०८२ घाेषणा गरिएको बताए ।
नगरप्रमुख खत्रीले नगरपालिकाले पालिकामा रहेका सम्पदाहरूकाे सम्वर्द्वन र प्रवर्द्धन गरिरहेकाे उल्लेख गर्दै नगरपालिकाकाे उक्त कार्यक्रमलाई प्रत्येक नगरवासीले अपनत्व लिनुपर्नेमा जाेड दिए । उनले नगरकोट भ्रमण वर्षकै सिलसिलामा वडाव्यापी कार्यक्रम जारी रहेकाे जनाए । साईकलिङमा सहभागीहरूलाई नगर प्रमुख खत्रीले प्रमाणपत्र प्रदान गरेमा थिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले युवा समूहको कामकाे सराहना गर्दै वडामा पर्यटन विकासका लागि विभिन्न कार्यहरू गरिरहेको बताए । उनले ताथलीमा विश्वकै दुर्लभ चट्टान अभिलेख, ऐतिहासिक नाला गढी रहेको जनाउँदै तिनीहरूको प्रवर्द्धनमा सहकार्य आवश्यक रहेकाेमा जाेड दिए ।
साईकलिङमा विशेष आकर्षणका रूपमा रहेका विश्व साईकलयात्री एवम् सगरमाथा आराेही पुष्कर शाहले ताथलीका विभिन्न स्थानमा साईकलिङ गर्न पाउँदा बेग्लै अनुभव गर्न पाएकाे बताए । उनले भने,` ताथलीका विभिन्न स्थान, सम्पदा र जनजीवन, प्राकृतिक मनाेरम दृष्यसँग साक्षात्कार गर्न पाउँदा मनै आनन्द भएको छ । शहरकाे काेलाहलबाट मुक्त भई मन आनन्दित बनाउन ताथली उपयुक्त गन्तव्य बन्नसक्छ ।´
उनले ताथलीकाे हरियाली फाँट, उकाली ओराली, वनजङ्गल, ताथलीवासीकाे आतिथ्यले आफूलाई आकर्षण गरेकाे बताउँदै साईकलिङ आयाेजक समूहलाई धन्यवाद दिए । यसैगरी साईकल यात्री मचाकाजी महर्जनले काठमाडौं उपत्यकाकाे नजिकैको साईकलिङ र हाईकिङकाे रूपमा ताथली रहेकाे पाउँदा दंग भएको बताए ।
साईकलिङमा सहभागी काठमाडौं साईकल सिटीका प्रेसिडेन्ट सन्जय बलामीले ताथली विभिन्न सम्पदा लुकेको साैन्दर्यकाे खानी भएकाे बताए । उनले ताथली- नाला सडकका भित्री बस्तीहरू अर्गानिक ठाउँकाे रूपमा अनुभव गर्न पाएको प्रतिक्रिया दिए ।
नगरकाेट भ्रमण वर्ष २०८२ का विज्ञ घनश्याम खतिवडा, समूहका सचिव सत्यनारायण गिरी, समूहका सल्लाहकार घनश्याम खड्का लगायतले ताथलीका विविध पक्षको उजागर गर्नका लागि गरिएको कार्यक्रम उपलब्धिमूलक भएको बताए । साईकल यात्रीहरूले हलालगाउँ( हर्षपुर) स्थित नाला गढीसम्म हाईकिङ गरेका थिए । ताथलीमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको प्रचारप्रसारका लागि समूहले नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा उक्त कार्यक्रम गरिएको समूहका अध्यक्ष सुरेशराज गिरीले बताए । उनले समूह नाफामूलकभन्दा सेवामूलक भएको जनाउँदै समाजमुखी कार्यक्रम गरिरहेको जानकारी दिए ।
साईकलयात्रीहरूलाई यात्राका क्रममा विभिन्न टाेलका समूह, समाजले स्वागत गरेका थिए ।
कार्यक्रममा कलाकार सम्राट सापकोटा,  ब्रेभ राइडर कमला पुन: फरक क्षमताका साईकलिष्ट पुरूषाेत्तम साहुखललगायतलाई नगर प्रमुख खत्री, चाँगुनारायण नपाका प्रवक्ता एवम् वडा अध्यक्ष जनक खत्री, वडा सदस्यद्वय विद्यापति थापा र रविन बासुकलालगायतले मायाको चिनाे वितरण गरेका थिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामा, वडा नं. ७ का वडा अध्यक्ष श्यामकृष्ण नायजु, कार्यपालिका सदस्य कमला गिरी तथा अन्य विभिन्न संघसंस्था, समूहलगायतको उपस्थिति रहेकाे थियाे ।
साँखु, काठमाडौं, कीर्तिपुर, ललितपुर, पांगा, काभ्रे, धुलिखेल, पाेखरा, भक्तपुरका विभिन्न स्थानका साथै फ्रान्सेली नागरिक समेतकाे सहभागितामा भएको साईकलिङमा लाेक गायिका आशा लामा, कलाकार अनुश्री परियारले प्रस्तुति गरेकी थिइन् ।
ब्रम्हायणी मन्दिरबाट सुरु भएकाे साईकलिङले इथाचा–चुनदेवी मन्दिर—डाडाँपाटी–धाराकुलो– फैढोका–कडेलापाखा –दक्षिणकाली मन्दिर गिरी, बस्नेत, खड्का, छुकां टोल–देवी मा. वि. सौडोल–गचा– माथिल्लो खड्का, बुढाथोकी टोल –गोठाले चौर (बस्नेत स्टोर) – ताथली पुल–नालाछाप– चिलाउने घारी–अमलडोल (नाला गुम्बा– पुजारीपाटी– चट्टान अभिलेख–हर्षपुर–खावा भ्यू टावर– ताथली गढीमा (हाइकिङ) –कलमसी–ठूली ब्रम्हायणी मन्दिर–सुडाल–बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर– वाइसिएल मार्ग – दर्जी टोल–साखकमी टोल– जेइसि कलेज हुँदै फैढोकासम्म गरि करिब २५ किमीकाे दूरी पार गरेकाे थियाे । साईकलिङमा २७६ जना साईकलयात्रीकाे सहभागिता रहेकाे आयाेजक समूहले जनाएको छ ।
साे अवसरमा समूहद्वारा प्रकाशित तथा सञ्चारकर्मी हरिसुन्दर छुकांद्वारा सम्पादित `हाम्रो ताथली´ नामक प्रकाशन समेत विमाेचन गरिएको थियाे ।