भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्यो, दरबन्दी मिलानपछि दोब्बरले वृद्धि

4

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। दरबन्दी मिलान, विद्यालय समायोजन र सिकाइ वातावरणमा सुधार गरेपछि यहाँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो।

२०७८ साउनमा स्थानीय तहको निर्वाचनपछि भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयहरूको दरबन्दी मिलान गरेको थियो। सो कदमले विद्यालयमा पठनपाठनको गुणस्तर सुधार गर्न र व्यवस्थापन चुस्त बनाउन योगदान गरेको पालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो।

वृद्धि भएका विद्यालयहरू
भीमदत्त नगरपालिकामा चार दर्जनभन्दा बढी सामुदायिक विद्यालयहरू छन्। दरबन्दी मिलानपछि विभिन्न विद्यालयहरूमा विद्यार्थी सङ्ख्या यसरी वृद्धि भएको छः

  • लक्ष्मी माध्यमिक विद्यालय, बागफाँटा (वडा नं. १९) – दरबन्दी मिलानअघि १८० विद्यार्थी, अहिले ५५० भन्दा बढी

  • महेश्वर माध्यमिक विद्यालय, वडा नं. १० – ४५० बाट ६०० विद्यार्थी

  • जनसेवा माध्यमिक विद्यालय, हल्दुखाल (वडा नं. ७) – २०० बाट ३५० विद्यार्थी

  • बैजनाथ माध्यमिक विद्यालय, महेन्द्रनगर (वडा नं. ४) – ७०० बाट १,३५६ विद्यार्थी

  • सत्यदेवी माध्यमिक विद्यालय, वडा नं. ५ – २०० बाट ४०९ विद्यार्थी

यस्तै बैजनाथ सिद्दनाथ, महेन्द्र, निङ्लाशैनी, पूर्णा, शान्ति निकेतन, सिद्दनाथ अमर (गड्डाचौकी), त्रिभुवन लगायतका माध्यमिक विद्यालयहरूमा पनि विद्यार्थी सङ्ख्या दोब्बरले बढेको छ।

सुधारको आवश्यकता
यद्यपि केही सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या घटेको पनि पाइएको शिक्षा शाखा प्रमुख जोशीले बताउनुभयो। उहाँका अनुसार ती विद्यालयहरूमा प्रविधिको प्रयोग, पर्याप्त शैक्षिक सामग्री, शौचालय र सरसफाइ व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।

उहाँले भन्नुभयो, “कतिपय विद्यालयहरूले प्रविधि र सरसफाइमा पर्याप्त ध्यान दिन नसकेको पाइएको छ, जुन सुधार गर्नु जरुरी छ।”