म्याग्दीको रघुगंगा गाउँपालिकाद्वारा कृषक परिचय पत्र वितरणको तयारी, ५० करोड बजेट पारित

6

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँपालिका भित्रका वास्तविक किसानको पहिचान गरी ‘कृषक परिचय पत्र’ वितरण गर्ने भएको छ। किसानहरूलाई वर्गीकरण गरेर सहुलियत र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न यस्तो परिचय पत्र वितरण गर्न लागिएको हो।

गाउँपालिका केन्द्र मौवाफाँटमा बिहीबार सम्पन्न १९ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले निर्वाहमुखी कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै गाउँपालिका आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिनुभयो।

अध्यक्ष भण्डारीका अनुसार युवालाई कृषिमा आकर्षित गर्न ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि औजार, उपकरण र मेसिनरी खरिदमा अनुदान दिइनेछ। साथै, साना सिँचाइ योजना सञ्चालन, कृषि उपज बजारीकरण, सुन्तला पकेट क्षेत्र स्थापना गरी सुन्तलाको उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनका अनुसार कृषि विकास र विस्तारका लागि आगामी वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपाध्यक्ष पुनले प्रस्ताव गर्नुभएको ५० करोड ११ लाख ४० हजार ८२० रुपैयाँको बजेट र अध्यक्ष भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, सडक पूर्वाधार र उद्यमशीलता लाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट निर्माण गरेको छ।