वीरगञ्जमा न्यायाधीशमाथि मोसो प्रहार

2

वीरगञ्ज — उच्च अदालत वीरगञ्जको अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि अदालत परिसरमै मोसो छ्यापिएको छ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूको समूहले इजलासभित्रै पसेर न्यायाधीश थारुमाथि दुर्व्यवहार गर्दै कालो मोसो छ्यापेको प्रहरी स्रोतले जनाएको छ। प्रदर्शनकारीहरूले ‘जनताको विरोधमा फैसला गर्न पाउँदैन’ भन्दै नाराबाजीसमेत गरेका थिए।

मोसो प्रहारसँगै सुरक्षाकर्मीले तत्कालै हस्तक्षेप गरी तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल रहेको खुलेको छ।

उक्त घटना नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगञ्जले दिएको सफाइ फैसलापछि भएको हो।

गत जेठ १४ गते आलमले रौतहटको बहुचर्चित राजपुर बम विस्फोट तथा हत्या अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका थिए। तर, उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।

यस फैसलाप्रति असन्तुष्टि जनाउँदै अदालत परिसरमै हिंसात्मक प्रदर्शन हुनु न्यायालयको स्वतन्त्रता र मर्यादामाथिको गम्भीर हमला भएको कानुनी विज्ञहरूले बताएका छन्।