वातावरण संरक्षण गर्न विद्युतीय सवारी प्रयोग आवश्यक छ : मुख्यमन्त्री लामा

2

मकवानपुर — हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा रहेको नेपाल इकरत इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले विद्युतीय सवारी साधनका लागि पहिलो पटक तीव्र गतिको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आइतबार उक्त चार्जिङ स्टेशनको उद्घाटन गर्दै नयाँ प्रविधिसहितको यस्तो सुविधा प्रदेशभर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

“वातावरणीय चुनौती बढ्दो छ, यसै सन्दर्भमा विद्युतीय सवारीसाधन र चार्जिङ स्टेशनहरू अपरिहार्य छन्। यस्ता पहलले वातावरण संरक्षण मात्र होइन, ऊर्जा आत्मनिर्भरता र विदेशी मुद्राको बचतमा समेत योगदान पुर्‍याउँछन्,” उहाँले भन्नुभयो।

मुख्यमन्त्री लामाले चिनियाँ प्रविधि कम्पनी हुवावे सँग सहकार्य गर्दै नेपालमा नयाँ प्रविधि भित्र्याएको निकको पहललाई प्रशंसा गर्दै यसले रोजगारी सिर्जनामा पनि टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख मीनाकुमारी लामाले हरित हेटौंडाको अवधारणा साकार पार्न चार्जिङ स्टेशनले ठूलो योगदान दिने बताउँदै, “नेपालमा उत्पादित विद्युत् उपयोग गरी स्वदेशमै स्वच्छ उर्जा प्रयोगको संस्कृति विकास हुँदैछ,” भन्नुभयो।

चार्जिङ स्टेशनका प्रमुख प्रेशा श्रेष्ठका अनुसार उक्त स्टेशन चार सय किलोवाट क्षमताको हो र पाँच वटा प्वाइन्टमार्फत विद्युतीय सवारी साधन चार्ज गर्न सकिनेछ।

“११ महिनाको तयारीपछि सञ्चालनमा ल्याइएको स्टेशनले न्यूनतम इन्धन सवारीलाई पम्पमा लाग्ने समयझैँ छोटो अवधिमा—केवल ५ देखि १५ मिनेटभित्र—पुर्णरूपमा चार्ज गर्न सक्षम छ,” श्रेष्ठले जानकारी दिनुभयो।

स्टेशनमा विद्युत आपूर्तिको अवरोध हुन नदिन २४०/२२० केभीएको सोलार प्रणाली समेत जडान गरिएको छ।

निक कम्पनीले हेटौंडालाई हरित र वातावरणमैत्री सहरको रूपमा विकास गर्न यस्ता प्रविधिहरूलाई प्राथमिकता दिँदै आएको जनाएको छ।