भक्तपुर– भारतीय फिल्म क्षेत्रमा एक विशिष्ट पहिचान बनाएका चर्चित गायक कृष्णकुमार कुन्नथ (केके) को तेस्रो पुण्यतिथि को अवसरमा भक्तपुरमा विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ।
२०८२ जेठ २४ गते शनिबार, साँझ ५ बजे भक्तपुरको कौसी रेष्ट्रोमा उनको सम्झनामा सांगीतिक श्रद्धाञ्जली कार्यक्रम गर्न लागेको आयोजकले जनाएका छन्। राधे राधेबाट निकोसेरा जाँदा पर्ने धरहरा भएको घरमा रहेको रेष्ट्रोमा आयोजना हुने कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजक संस्थाका प्रविण शाअीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रममा केकेका लोकप्रिय तथा कालजयी गीतहरू मार्फत उहाँप्रति श्रद्धा व्यक्त गरिनेछ। संगीतप्रेमी, कलाकार, पत्रकार, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
गायक केकेको २०७९ जेठ २४ गते भारतको कोलकातामा कन्सर्टपछि हृदयघातका कारण निधन भएको थियो। उहाँको स्वरमा सजिएका कैयौं गीतहरूले नेपाली श्रोतामाझ पनि गहिरो प्रभाव पार्न सफल भएका थिए ।
केेे का गीतहरू भक्तपुरका विभिन्न गायकहरूले गुनगुनाउने शाहीले जानकारी दिनुभएको छ ।