भक्तपुरमा “अभ्यास मनसुन” सफलतापूर्वक सम्पन्न

16

भक्तपुर  — आगामी मनसुन यामलाई मध्यनजर गर्दै “अभ्यास मनसुन–५” नामक विपद् पूर्वतयारी अभ्यास कार्यक्रम आज भक्तपुरको ऐतिहासिक भाज्या: पुखु क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त अभ्यास कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति, भक्तपुर र श्री रणसेर गणको सहकार्यमा आयोजित भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा, सशस्त्र प्रहरी बल २२ नम्बर गण, र भक्तपुर महानगरीय प्रहरी प्रभागको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य मनसुनको समयमा आउन सक्ने संभावित बाढी, डुबान र अन्य प्राकृतिक विपद्हरूको जोखिम न्यूनीकरण तथा समन्वय, उद्धार र राहत कार्यमा संलग्न निकायहरूको तयारी सुदृढ गर्नु रहेको थियो।

विपद् व्यवस्थापनमा संलग्न सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायहरूबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ गरिएको अभ्यासमा जीवन रक्षक उपाय, प्राथमिक उपचार, जनसुरक्षा तथा राहत वितरणका विषयमा प्रशिक्षण र अभ्यास गरिएको थियो।

अभ्यासपछि आयोजकहरूले मनसुन याममा जनताले सामना गर्नुपर्ने सम्भावित चुनौतीहरूमा सबै निकाय एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।