प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने युवक भक्तपुरमा पक्राउ

6

भक्तपुर । प्रहरी निरीक्षकको नक्कली पहिचान दिँदै सर्वसाधारणलाई धम्क्याउने एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्ने युवक भोजपुरको साल्पा सिलिछो गाउँपालिका–३ निवासी २३ वर्षीय सुजन गिरी हुन्।

प्रहरीका अनुसार गिरीले मोबाइलको वालपेपरमा प्रहरी निरीक्षकको पोशाकमा खिचिएको आफ्नै तस्बिर राखी सर्वसाधारणमाथि धाकधम्की दिने र सार्वजनिक स्थानमा अशान्ति फैलाउने कार्य गर्दै आएका थिए।

उनीमाथि सूचनाको आधारमा मंगलवार साँझ मध्यपुर थिमि–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङ नजिकैको नेवाः भुटु रेष्टुरेन्ट अगाडिबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरी वृत्त थिमिको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो।

गिरीलाई हाल प्रहरी वृत्त थिमिमा राखी आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइएको नेउपानेले बताउनुभयो।