काठमाडौं — नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा महेशकुमार कोर्मोचाको आइतबार अन्त्येष्टि गरिएको छ।
८० वर्षीय कोर्मोचाको शुक्रबार राति काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। उहाँको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फत गृहनगर खिजीदेम्बा गाउँमा लगी, सुनुवार समुदायको परम्परा अनुसार अन्त्येष्टि गरिएको हो।
पार्टी कार्यालयमा अन्तिम बिदाइ
आइतबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा दिवंगत कोर्मोचालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, वरिष्ठ नेता डा. शेखर कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा लगायतका नेताहरूले पार्टीको झण्डा र पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।
ओखलढुंगामा पनि श्रद्धाञ्जली
ओखलढुंगाबाट प्राप्त जानकारी अनुसार, कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रदीप कुमार सुनुवार, जिल्ला सभापति तेजेन्द्र खनाल, पूर्व सांसद यज्ञराज सुनुवार, तथा स्थानीय नेताहरू पेशल खतिवडा, कुमार लुइटेल, खिलानाथ दाहाल, लोककृष्ण भट्टराई, अजय लुइटेल लगायतले स्वर्गीय कोर्मोचाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
जिल्ला सभापति खनालका अनुसार, स्वर्गीय कोर्मोचाको अन्त्येष्टि सुनुवार परम्परा र संस्कारअनुसार सम्पन्न गरिएको हो।